नेपाल प्रहरीले पछिल्लो १०० दिनमा १२ वटा कार्यालयका लागि जग्गा प्राप्त गरेको छ।
प्रधान कार्यालयका प्रवक्ता अबिनारायण काफ्लेका अनुसार पछिल्लो १०० दिनमा १२ वटा कार्यालयका लागि जग्गा प्राप्ति भएको हो।
आइजिपी दानबहादुर कार्की कात्तिक २७ गते नेतृत्वमा आएयता विभिन्न कामहरू भएको उनले बताए। कार्कीले पदभार सम्हालेको एक सय दिन पूरा भएको छ।
उनका अनुसार आइजिपी कार्कीले पद सम्हाले यता वरिष्ठ सई सम्मको दर्जाका कर्मकारीलाई आकस्मिक सहुलियत कर्जा दिने प्रणाली सुरू गरिएको हो। यो कर्जा लिनका लागि अनलाइन आवेदन भर्ने प्रक्रिया सुरू भएको छ।
‘तल्लो दर्जाका प्रहरीहरूको सेवा, सुविधा तथा हित प्रवर्द्धनका लागि उहाँले पहल गर्नुभएको थियो। यो प्रतिबद्धताले संगठनभित्र आत्मसम्मान, मनोबल र कार्यउत्साह अभिवृद्धि गरेको महशुस भएको छ,’ उनले भने, ‘आधारभूत तहमा कार्यरत प्रहरी कर्मचारीका व्यावसायिक आवश्यकता तथा अवसरको समान पहुँचजस्ता विषयलाई प्राथमिकतामा राखिएको छ।’
त्यस्तै राशन स्केलमा देखिएको असमानता हटाइएको पनि उनले बताए।
फागुन १ गतेदेखि लागु हुने गरी प्रहरीको राशन स्केलमा थप ३ प्रकारका सामग्री समावेश गरिएका छन्।
झन्डै ६ हजार फरार प्रतिवादी पक्राउ
प्रहरीले पछिल्लो सय दिना फैसला कार्यान्वयन अन्तर्गत ५ हजार ७८१ जनालाई पक्राउ गरेको छ।
उनीहरूबाट ३८ करोड ३६ हजार २७ हजार ६४९ जरिवाना र एक हजार ९६० वर्ष भुक्तानी हुन बाँकी थियो।
जबरजस्ती करणी तथा उद्योगका ४७५ घटनामा ४४५ अभियुक्त कानुनी दायरामा आएका छन्।
कर्तव्य ज्यान सम्बन्धी १२३ घटनामा १८८ अभियुक्त पक्राउ परेका थिए।
लागूऔषध सम्बन्धि कसुरमा २४५५ जना विरूद्ध १५४८ मुद्दा दर्ता भएको थियो।
जसबाट १७१५३ केजी गाँजा, ४२० किलो चरेस, १० किलो हेरोइन, ५ किलो अफिम, ५ किलो पोल्याण्ड, २१ ग्राम कोकिन बरामद भएका छन्।
एआई सेल गठन
नेपाल प्रहरीको प्रधान कार्यालयमा आर्टिफिसियल इन्टिलिजेन्स एन्ड एड्भान्स एनालाइटिक्स सेल (एआई-एएसी) सेल गठन भएको छ।
जेनेरेटिभ एआई, लार्ज ल्यान्ग्वेज मोडल, मेसिन लर्निङ, प्रिडिक्टिभ एनालाइटिक्स र अटोमेशनमा आधारित विश्लेषण प्रणालीको प्रयोग बिना सुरक्षा व्यवस्थापन प्रभावकारी नहुने भएकाले एआई सेलको गठन गरेको प्रधान कार्यालयले जनाएको छ।