पर्साको वीरगञ्जमा तीन जना सुतली बम र सुँगुरको टाउको सहित पक्राउ परेका छन्।
बुधबार बिहान पौने ३ बजेतिर वीरगञ्ज महानगरपालिका-१६ इनरवागाउँबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए।
उनका अनुसार पक्राउ परेकाबाट ९ वटा सुतली बम, सुँगुरको टाउको एउटा र १० मिटर वायरिङ तार बरामद गरेको छ।
पक्राउ परेका तीन जनाको परिचय प्रहरीले खुलाइसकेको छैन।
विशेष सूचना पाएपछि निर्वाचन लक्षित एकीकृत सुरक्षाकर्मीको संयुक्त टोली खटिएको थियो।
यस्तै गएराति पर्साको पर्सागढी नगरपालिका-३ बाट एक जना उम्मेदवारसहित चार जनालाई विस्फोटक पदार्थसहित पक्राउ गरेको डिएसपी बस्नेतले बताए।
बा १० च १२५० नम्बरको गाडी शंका लागेर जाँच गर्दा डिक्की भित्र पहेँलो टेपले बेरिएको अवस्थामा शंकास्पद वस्तु फेला परेको हो।
उक्त गाडीमा पर्सा २ बाट नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मनोजकुमार चौधरी सवार थिए। उनलाई पनि प्रहरीले पक्राउ गरेको छ।
उनीसँगै बाराका सहाब आलम अन्सारी, सुरज कार्की र सत्नारायण थारू पक्राउ परेका छन्।
उनीहरूमाथि विष्फोटक पदार्थ सम्बन्धी कसुर, सार्वजनिक शान्ति विरूद्धको कसुर र निर्वाचन सम्बन्धी कसुरमा थप अनुसन्धान र कारबाही अघि बढाएको डिएसपी बस्नेतले बताए।