विश्व स्वास्थ्य संगठनको तथ्यांक हेर्ने हो भने हरेक वर्ष ५ वर्ष मुनिका ६ देखि ७ लाख बालबालिकाको मृत्यु वायु प्रदूषणका कारण हुने गरेको छ।
पछिल्ला ५ वर्षमा विश्वका अत्यधिक वायु प्रदूषण हुने सहरमा काठमाडौं पर्दै आएको छ। कहिलेकाहीँ यो उक्लेर पहिलो नम्बरमा समेत आउने गरेको छ।
वायु प्रदूषणले हरेक उमेर समूहलाई असर गर्छ। यसमा पनि बालबालिका, दीर्घरोगी र मुटुका रोगीलाई अझ बढी असर गर्छ।
वायु प्रदूषण धुलो र धुवाँका कारण हुन्छ।
धुवाँ भनेको हानिकारक ग्यास जस्तै ओजोन, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन जस्ता ग्यासहरूको मात्रा बढ्नु हो।
यसको स्रोत घरभित्र र बाहिर दुवैतिर हुन्छ। जस्तै, हामीले घरमा खाना पकाउन, कोठा तातो बनाउन वा बच्चा सेकाउन आगो बाल्छौँ। त्यसले वायु प्रदूषण गर्न सक्छ। अर्को भनेको हामीले कुनै धूपहरू बाल्छौँ भने त्यसले पनि वायु प्रदूषण गर्न सक्छ।
त्यस्तै, प्यासिभ स्मोकर पनि कारक हो। अर्थात् कसैले घरमा धूमपान गर्छ भने त्यसको असर अरू व्यक्तिलाई पनि पर्छ र वायु प्रदूषण पनि हुन्छ।
घरबाहिरको कुरा गर्दा गाडी र उद्योगबाट निस्किने धुवाँ–धुलो हो। साथै जंगलमा आगलागी हुँदा निस्किने धुवाँ–धुलोले पनि असर गर्छ। खेतमा पराल बाल्दा त्यसबाट निस्किने धुवाँले पनि वायु प्रदूषण हुन्छ। घरबाट निस्किने फोहोर बाल्दा पनि त्यसले वायु प्रदूषण गर्न सक्छ।
वायु प्रदूषणले बच्चामा समस्या परेपछि देखिने लक्षण
बच्चा नजन्मिँदैदेखि नै उसलाई वायु प्रदूषणले असर गर्न सक्छ। गर्भवती महिलालाई असर गर्छ भने बच्चा कम तौलको जन्मिन सक्छ र समयअघि नै जन्मिने सम्भावना पनि हुन्छ।
बच्चा जन्मिएपछि अझै धेरै असर गर्न सक्छ। किनकि बच्चाको सास फेर्ने गति अरूको भन्दा धेरै हुन्छ। बच्चाका अङ्गहरू राम्रोसँग विकास नभइसकेको हुन्छन् र रोग प्रतिरोधी क्षमता पनि राम्रो नहुने भएकाले उनीहरूलाई बढी असर गर्छ।
यसले मुख्यतः श्वासप्रश्वास प्रणालीमा असर गर्छ। बच्चालाई खोकी लाग्ने, घाँटी खसखस हुने, दम हुने सम्भावना बढ्ने तथा दम भएका बालबालिकामा राम्रोसँग दम नियन्त्रण नहुने समस्या देखिन सक्छ। कहिलेकाहीँ दमले च्यापेर आपतकालीन कक्ष (इमर्जेन्सी) मा लैजानुपर्ने अवस्था पनि आउन सक्छ।
यससँगै श्वासप्रश्वासमा हुने संक्रमणहरू जस्तै रूघाखोकी, घाँटी दुख्ने, ब्रोंकाइटिस र निमोनिया अझ धेरै हुने गर्छ।
श्वासप्रश्वास बाहेक अन्य अंगहरूमा पनि वायु प्रदूषणले असर गर्छ। छाला सुख्खा हुने, चिलाउने लगायत समस्या देखिन सक्छ। बच्चाको मस्तिष्क विकासमा समेत असर गर्छ। वायु प्रदूषणका कारण अटिजमको खतरा पनि बढ्ने गरेको देखिएको छ।
वायु प्रदूषणले रोग प्रतिरोधी क्षमता कम गराउँछ। यसले गर्दा बच्चाहरू छिटोछिटो बिरामी पर्न सक्छन्। पछि गएर उच्च रक्तचाप, मुटुको समस्या हुन सक्छ भने क्यान्सरको जोखिम समेत बढ्न सक्छ।
वायु प्रदूषणबाट कसरी जोगिने?
वायु प्रदूषण कम गर्नका लागि ठूलो प्रयास राज्यले नै गर्नुपर्छ। तर हाम्रो साना–साना प्रयासले पनि यसलाई कम गर्न सकिन्छ।
वायु प्रदूषणको मात्रा धेरै भएका दिनमा बच्चालाई सकेसम्म बाहिर नलैजाने। यदि बाहिर लैजानै परेमा मास्कको प्रयोग गर्नुपर्छ। बाहिर लैजाँदा पनि निर्माण कार्य भएका ठाउँमा वा धुलो भएका सडकमा नलगेमा केही हदसम्म जोखिम कम हुन्छ।
घरबाट निस्किने फोहोरलाई कुहिने र नकुहिने भनेर छुट्याउन सके राम्रो हुन्छ। आफ्नो घर वरिपरि हरियाली बनाएर पनि वायु प्रदूषण कम गर्न सकिन्छ।
(बाल रोग विशेषज्ञ डा. अस्कल देवकोटासँग हामीले भिडिओ कुराकानी गरेका छौं।)