रौतहटको कटहरीया नगरपालिकामा ५५ वर्षीया एकल महिलामाथि बोक्सीको आरोपमा अमानवीय व्यवहार गरिएको छ।
उनलाई मलमूत्र खुवाउने र कुटपिट गर्ने जस्ता अमानवीय व्यवहार गरिएको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटले घटनामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) बिष्णु प्रदिप बस्यालले घटनामा संलग्नमध्ये ३० वर्षीय शंकर माझीलाई पक्राउ गरिएको जानकारी दिए।
शंकर विरुद्ध बोक्सी अरोपको कसुरमा थप अनुसन्धान भइरहेको उनले बताए।
प्रहरीका अनुसार कटहरीया नगरपालिका वडा नं. ९, डुमरिया टोलका गौरी साह कलवार लगायतका व्यक्तिहरूले उनलाई बोक्सीको आरोपमा दुर्व्यवहार गरेको पीडित महिलाले बताएकी छन्।
'यो बोक्सी हो, मेरो नातेदारको बालकलाई बिरामी बनाइदिएको छ,' भनी आरोप लगाइ उनीहरूले शनिबार साँझ महिलालाई गाली गलौज, लछारपछार कुटपीट गरेका थि। उनीहरूले आफूलाई मलमुत्र समेत खुवाएर अमानवीय र अपमानजनक व्यबहार गरेको उनको भनाइ छ। पीडित महिलाले आरोपीहरू विरूद्ध आइतबार इलाका प्रहरी कार्यालय गरूडामा जाहेरी दिएकी थिइन्।
प्रहरी नायब उपरीक्षक विष्णु प्रदिपले घटनापछि फरार भएका अरोपीको खोजी भइरहेको समेत जानकारी दिए।
बोक्सीको आरोप (कसूर र सजाय) ऐन, २०७२ बमोजिम कसैलाई बोक्सीको आरोप लगाउन, कुटपिट गर्न, मलमूत्र खुवाउन वा सामाजिक बहिष्करण गर्न निषेध छ।