काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले होल्डिङ सेन्टरमा रहेका बालबालिकाहरूलाई आवासीय सुविधासहित नि:शुल्क शिक्षा प्रदान गर्न निजी तथा संस्थागत विद्यालयका संघ-संगठनलाई अनुरोध गरेकी छन्।
बागमती नदी किनारामा बस्दै आएका बालबालिकाहरूलाई अहिले परिवारसहित राधास्वामी सत्संत व्यास आश्रममा सञ्चालित होल्डिङ सेन्टरमा राखिएको छ। त्यहाँ बस्दै आएका बालबालिकालाई आवासीय सुविधासहित शिक्षा प्रदान गरिदिन प्याब्सन र एनप्याब्सनलाई मेयर डंगोलले अनुरोध गरेकी हुन्।
छलफलमा प्याब्सन र एनप्यासनका केन्द्रीय, जिल्ला र महानगर स्तरीय समितिका पदाधिकारी सहभागी थिए।
‘नदी किनाराका अव्यवस्थित बस्ती खाली गर्ने क्रममा अहिले बालबालिकाहरूलाई आवास सुविधा सहित निःशुल्क अध्ययन गराउन हामीले यस्तो सुविधा भएका निजी तथा संस्थागत विद्यालयहरूबाट सहयोगको अपेक्षा गरेका छौं,’ उनले भनिन्, ‘मलाई थाहा छ। तपाईंहरूले यावत प्रश्न छन्। हामीसँग ती प्रश्नहरूको जवाफ खोजीरहनु भएको छ। हामी ती प्रश्नको जवाफ दिन्छौं। तर, अहिले प्रश्नभन्दा माथि उठेर काम गर्नु पर्ने बेला हो। अव्यवस्थित बस्तीबाट होल्डिङ सेन्टरमा राखिएका बालबालिकाहरूको शिक्षाका लागि हामी सबैले मिलेर काम गरौं। उनीहरुलाई नियमित विद्यालय जाने अवसर प्रदान गरौं। हामी मिलौँ र बालबालिकाको सर्वोत्तम हितमा काम गरौं।’
संस्थागत सामाजिक उत्तरदायित्व र मानवताका दृष्टिले सहकार्य अगाडि बढाउन कार्यवाहक प्रमुखको अनुरोध थियो।
उनको प्रस्तावमा प्याव्सनका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारी, एनप्याब्सनका अध्यक्ष सुवास न्यौपाने, प्याव्सनका महासचिव आ. वि. कटुवाल, एनप्याब्सनका महासचिव प्रकाश खड्काले वर्तमान अवस्थामा महानगरपालिकाले बालबालिकाको शिक्षाका लागि सहकार्यका लागि अघि सारेको तत्परताले आफूहरूलाई पनि जिम्मेवारबोध गराएको उल्लेख गरेका थिए।