बागमती तथा यसका सहायक नदी किनारका जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गा खाली गराउने अभियान अन्तर्गत हालसम्म १८१६ परिवारका ७७८९ जना सम्पर्कमा आएका सरकारले जनाएको छ।
उनीहरूमध्ये ७९४ जनालाई सरकारद्वारा व्यवस्थापन गरिएका होल्डिङ सेन्टरहरूमा स्थानान्तरण गरिएको छ।
बाँकी व्यक्तिहरू भने दशरथ रंगशालास्थित स्क्रिनिङ सेन्टरमा उपस्थित भई हालका लागि आफ्नै पहलमा आवासको व्यवस्था गर्ने भन्दै बाहिरिएका सरकारले जनाएको छ।
सरकारले प्रभावितहरूको व्यवस्थापनका लागि विभिन्न स्थानमा होल्डिङ सेन्टर सञ्चालनमा ल्याएको छ।
तीमध्ये कीर्तिपुरस्थित राधास्वामी सत्सङ भवन, नयाँ बसपार्क र माछापोखरी क्षेत्रका होटलहरू, भक्तपुरस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र तथा बोडेस्थित कृषि तालिम केन्द्र प्रयोगमा छन्।
सरकारले नदी किनारका अतिक्रमित तथा जोखिमयुक्त संरचना हटाउँदै प्रभावितहरूको व्यवस्थापन र पुनःस्थापनाको प्रक्रिया अगाडि बढाएको जनाएको छ।