पाल्पाको तिनाउ नदीमा डुबेर बेपत्ता भएका एक भारतीय किशोरको शव फेला परेको छ। सोही घटनामा अर्का किशोरको अवस्था भने अझै अज्ञात छ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार भारतको उत्तर प्रदेश सन्तकबिर नगर, मेधावल ठाकुरद्वार नगर पञ्चायत वडा नं. १८ बस्ने १७ वर्षीय अमान अन्सारी र फहरान अन्सारी आइतबार दिउसोदेखि तिनाउमा डुबेर बेपत्ता भएका थिए।
अन्य पाँचजना सँगै नेपाल घुम्न आएका उनीहरु पौडी खेल्ने भन्दै तिनाउ गाउँपालिका वडा नं. ३ स्थित जलविद्युत ड्याम क्षेत्रमा पुगेका थिए।
ड्याम साइडमा रहेको तिनाउ नदिको रहमा पौडी खेल्ने क्रममा आइतबार साढे ३ बजेतिर अमान र फहरान रहमा डुबेर बेपत्ता भएका थिए।
उनीहरु बेपत्ता भएको थाहा पाएलगत्तै प्रहरीले खोजी सुरु गरेको थियो। आइतबार साँझसम्म कुनै पत्ता नलागेपछि प्रहरीले सोमबार बिहानैदेखि खोजी थालेको थियो।
सोही क्रममा अमानको शव सोमबार बिहान सवा १० बजेतिर घटनास्थलबाट करिब १ सय मिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होम प्रकाश चौधरीले जानकारी दिए।
बेपत्ता रहेका फहरान अन्सारीको भने अझै पनि अवस्था अज्ञात रहेको छ। उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। उनीहरुसँग घुम्न आएका अन्य पाँचजना भने सकुशल रहेका छन्।
ड्यामसाइडमा पौडी खेल्ने क्रममा हरेक वर्ष कैयौं व्यक्तिको डुबेर मृत्यु हुने गरेको छ।
ड्यामसाइड र भुतखोलामा डुबेर मृत्यु हुने क्रम नरोकिएपछि सूचना टाँस गरेर पौडी खेल्न नजान आग्रह गर्दै आएको छ।