बाजुराबाट थप उपचारका लागि सुर्खेत ल्याइएको शिशु र सुत्केरीको मृत्यु भएको छ।
५ दिन अघि बडीमालिका नगरपालिका- १ की २१ वर्षीया सुत्केरी सरताकुमारी रोकाय र शिशुको मृत्यु भएको हो।
चैत ४ गते जिल्ला अस्पताल बाजुरमा १५ सय ग्रामको शिशु जन्माएकी थिइन्। बच्चा जन्माएपछि सुत्केरीको स्वास्थ्यमा समस्या आएपछि हेलिकष्टरबाट उद्धार गरेर सुर्खेत प्रादेशिक अस्पताल ल्याइएको थियो।
उपचारको क्रममा शिशुको ५ गते र सुत्केरी रोकायको ७ गते मृत्यु भएको जिल्ला सहायक अधिकारी लक्ष्मण पुडासैनीले जानकारी दिए।
'जिल्ला अस्पतालमा उच्च रक्तश्राव भएपछि हेलिकप्टरबाट उद्धार गरेर सुर्खेत पुर्याइएको थियो,' उनले भने,'शिशु र सुत्केरी दुवैको मृत्यु भयो।'
शिशु कम तौल भएको जन्मिएकाले मृत्यु भएको हो भने सुत्केरी मुटु रोगबाट ग्रसित भएकाले मृत्यु भएको चिकित्सकहरूले बताएका छन्।
उनले यसअघि २०७९ मा पहिलो सन्तान जन्माएकी थिइन्। त्यतिबेला काठमाडौंमा उपचार गरेर बच्चा जन्माएको पछि थाहा पाएको सहायक अधिकारी पुडासैनीले जानकारी दिए।
त्यतिबेला नै उनलाई दोस्रो सन्तान नजन्माउन चिकित्सकहरूले सुझावसमेत दिएको पाइएको उनले बताए।