नेपाल मेडिसिटीले स्कटल्याण्डको इमर्जेन्सी मेडिकल रिट्रिभल सर्भिस (इएमआरएस) सँगको सहकार्यमा ‘एड्भान्स ट्रेनिङ एण्ड ट्रेनिङ फर ट्रेर्नस प्रोग्राम इन रिट्रिभल मेडिसिन’ आयोजना सुरू गरेको छ।
तालिम आज मार्च २३ देखि सुरू भई २७ गतेसम्म सञ्चालन हुनेछ।
यस तालिमले देशमा आकस्मिक तथा गम्भीर बिरामीको सुरक्षित र प्रभावकारी स्थानान्तरण सेवामा नयाँ आयाम थप्ने नेपाल मेडिसिटीले अपेक्षा छ।
अस्पतालका इमर्जेन्सी तथा हाई अल्टिट्युड सर्भिस चिफ डा. सञ्जय कार्कीका अनुसार तालिम विशेषगरी हेलिकप्टरमार्फत उद्धार (एयरलिफ्ट) गर्दा गम्भीर अवस्थाका बिरामीको सुरक्षित व्यवस्थापन, स्थानान्तरण तथा उपचार प्रक्रियामा केन्द्रित छ।
तालिमका क्रममा बिरामीलाई कसरी सुरक्षित रूपमा सार्ने, हेलिकप्टरभित्र बिरामीको उचित अवस्थिति तथा यात्राको क्रममा आवश्यक हेरचाह कसरी गर्ने भन्ने विषयमा व्यावहारिक अभ्यास (मोक टेस्ट) सहित प्रशिक्षण प्रदान गरिनेछ।
'यहाँको भौगोलिक बनावटका कारण ग्रामीण क्षेत्रमा उचित सडक नहुनु, पर्यटकलाई पर्वतारोहण गर्दा आपतकालीन उद्दार गर्नुपर्ने तथा अधिकतम उचाईमा उडान भर्न्पर्ने कारणले हेलिकप्टर अति आवश्यक र अनिवार्य रहेको छ,’ डा. कार्कीले भने।
अझै सघन उपचारका लागि काठमाडौं नै धाउनुपर्ने अवस्था रहेका कारण हेलि रेस्क्युमा अनिवार्य चिकित्सकहरु खटाइनुपर्ने वा उपचारकै लागि समर्पित हेलिकप्टर आवश्यक रहेको उनले बताए।
नेपाल मेडिसिटीका अनुसार हालसम्म १७६७ जना बिरामीलाई हेलिकप्टरबाट उद्धार गरी उपचार गरिएको छ, जसमध्ये ११९८ हेलि रेस्क्यूमा अस्पतालबाट चिकित्सकहरू खटिएका थिए। त्यस्तै कोरोना महामारीको समयमा अस्पतालले २१० जनाको हेलिकप्टरमार्फत उद्धार गरी उपचार गरिएको थियो।
तालिम उद्घाटनमा बाल्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता तथा स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाइका प्रमुख डा. प्रकाश बुढाथोकीले आकस्मिक स्वास्थ्य उपचारका लागि नेपाल सरकारले विभिन्न सरोकारवालाहरूलाई तालिम प्रदान गर्दै आएको बताए।
उनले नेपालमा १७०० एम्बुलेन्सले सडकबाट बिरामी उद्धार गर्दै आएकोमा कमै मात्र एम्बुलेन्समा चिकित्सकहरू रहने बताए।
‘हामीसँग १०४ चिकित्सकहरू तथा मेडिक्सहरू मात्र तालिम प्राप्त छन्। यो संख्या बढाउन हामीले एम्बुलेन्स ड्राइभर, टेक्निसिएन आदिलाई तालिम दिँदै आएका छौं। त्यस्तै, बेसिक सर्भाइभल ट्रेनिङ पनि प्रदान गर्दै आएका छौं,’ उनले भने।
उनले सरकारले हेलि एम्बुलेन्स सेवा तथा उद्धारका लागि पनि विभिन्न वर्कसप तथा कानून तयार गरिरहेको बताउँदै सम्पूर्ण नेपालीलाई नि:शुल्क आपतकालीन सेवा प्रदान गर्न प्रयासरत रहेको बताए।
कार्यक्रममा स्कटल्याण्डका विशेषज्ञ प्रशिक्षक, स्विट्जरल्यान्ड, भारत र जापानबाट आमन्त्रित ख्यातिप्राप्त चिकित्सकहरूले पनि आफ्नो अनुभव साटेका थिए।
नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले यस प्रकारका तालिम तथा कार्यक्रमले नेपालका स्वास्थ्य संस्था तथा सरोकारवालाबीच सहकार्य सुदृढ गर्दै देशको स्वास्थ्य सेवा स्तर अन्तर्राष्ट्रिय मापदण्डअनुरूप उकास्ने विश्वास व्यक्त गरे। उनले स्वास्थ्यकर्मीहरूलाई अन्तर्राष्ट्रियस्तरको तालिम प्रदान गरेर गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्ने आफ्नो दीर्घदृष्टि साझा गर्दै, निःशुल्क तालिमले सबैमा अवसर र पहुँच विस्तार गर्ने बताए।