बर्दियामा उपचारका क्रममा दाजुभाइको मृत्युपछि स्थानीय- प्रहरीबीच तनाव उत्पन्न भएको छ।
स्थानीय र प्रहरी बीचको झडपमा सात जना प्रहरी घाइते भएका छन्। घाइतेमध्ये एक जना प्रहरी सहायक हवल्दारको अवस्था भएकोले उपचारका लागि बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा पठाइएको बर्दियाका प्रहरी प्रवक्ता डिएसपी प्रमेश विष्टले सेतोपाटीलाई बताए।
अर्का एक जना प्रहरी निरीक्षकको बर्दियामा एक्सरे जारी रहेको र अन्यको पनि सामान्य अवस्थामा उपचार जारी रहेको डिएसपी विष्टले बताए।
प्रहरीले स्थिति नियन्त्रणमा लिन ४ राउन्ड हवाई फायर गर्नुका साथै ८/९ राउन्ड अश्रुग्यास प्रहार गर्नु परेको डिएसपी विष्टले जानकारी दिए। झडप हुँदा झन्डै एक दर्जन जति घाइते भएका छन्।
बर्दियाको गणेशपुरमा स्थानीयबासी- प्रहरीबीच बिहानदेखि झडप सुरू भएको थियो।
बर्दियाको गुलरिया नगरपालिका–११ गणेशपुरका सहोदर दाजुभाइ ४० वर्षीय सुरेश खटिक र ३० वर्षीय बहोरण खटिकको मृत्युको विषयलाई लिएर मंगलबार बिहानदेखि बाँकेको नेपालगंज हुँदै बदियाको गुलरिया जोड्ने हुलाकी राजमार्गको गणेशपुर चोकमा अवरोध राखेर स्थानीयले चक्काजाम गरेका थिए।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी विष्टका अनुसार सो अवरोध हटाउन भनेर गएको प्रहरीमाथि स्थानीयले एकाएक ढुंगा मुढाले आक्रमण थालेका थिए। त्यस क्रममा सात जना प्रहरी घाइते भएको डिएसपी विष्टले सेतोपाटीलाई बताए।
‘हाम्रा सात जना प्रहरी घाइते भएका छन्,’ उनले भने, ‘बाध्य भएर स्थिति नियन्त्रणमा लिन केही राउन्ड हवाई फायर र अश्रुग्यास प्रहार गर्नु परेको थियो।’
प्रहरीका अनुसार स्थानीय कोही पनि घाइते छैनन्। प्रहरीले बिहान साढे १० बजेपछि स्थिति नियन्त्रणमा लिइसकेको र अहिले स्थिति सामान्य उन्मुख बन्दै गएको डिएसपी विष्टले जानकारी दिए।
डिएसपी विष्टका अनुसार मदिरा सेवनपछि घरमै सुतेकामध्ये चैत ७ गते बिहान सवा ४ बजेपछि सुरेशले स्वासप्रस्वासमा समस्या भएको भनेपछि उनलाई उपचारका लागि बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा पुर्याइएको थियो।
उपचारका क्रममा त्यही उनको बिहान सवा ५ बजेतिर उपचारका क्रममा मृत्यु भएको थियो।
त्यस्तै, उनका भाइ बहोरणको पनि उपचारका क्रममा चैत ९ गते बिहान उपचारका क्रममा मृत्यु भएको थियो।
घटनाबारे प्रहरीले अनुसन्धान जारी राखेको तथा कानुनी प्रक्रिया थालिसकेको डिएसपी विष्टले बताए।
‘प्रहरीसँग सम्बन्धित नरहेको विषयमा अनुसन्धान जारी रहेको विषयमा नबुझेर सडक खण्ड अवरोध गर्ने र प्रहरीमाथि जाइलाग्ने प्रवृत्ति देखियो,’ डिएसपी बिष्टले भने।
एक स्थानीयले भने प्रहरीले सीमा नाका थप व्यवस्थित गर्नुपर्ने, अवैध रूपमा हुँदै आएको लागुऔषधको निकासी पैठारी रोक्न तथा नियन्त्रणमा थप सर्तकता अपनाउनु पर्ने माग गरे।
‘सीमा नाकामा प्रहरीको निकै कमजोरी छ,’ उनले भने, ‘लागुऔषधका कारोबारी सहजै आउजाउ गर्छन्। जसले गर्दा युवा कुलतको दलदलमा फस्दै गएको हुँदा त्यो रोक्नु पर्छ भन्ने हाम्रो माग हो।’
विगतदेखि नै सीमा क्षेत्रमा हुने गरेका कमीकमजोरी सुधार्न आग्रह गर्दा पनि त्यसको सुनुवाइ नभएको हुँदा आक्रोशित स्थानीय चक्काजाम गर्न बाध्य हुनु परेको उनले बताए।