सुर्खेतकी १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या घटनामा काठमाडौंबाट गएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले आफ्नो प्राविधिक जाँच पूरा गरेको छ।
सिआइबीका वरिष्ठ उपरीक्षक शिवकुमारी श्रेष्ठले 'मंगलबार वा बुधबार नै जाँच प्रतिवेदन सुर्खेत पठाउने' तयारी गरिरहेको जानकारी दिए।
'यो घटनामा प्राविधिक जाँच गर्न सुर्खेत गएको हाम्रो टोली हिजै फर्किसकेको छ,' उनले मंगलबार सेतोपाटीसँग भने, 'अब आज वा भोलि नै प्रतिवेदन सुर्खेत पठाउने तयारी छ।'
सिआइबी टोलीले आफ्नो प्राविधिक जाँच क्रममा मोबाइल डेटा, घटनाक्रमको समय अवधि र अन्य प्राविधिक पाटोमा सूक्ष्म अनुसन्धान गरेको उनले जानकारी दिए।
सिआइबीबाट इन्स्पेक्टर नेतृत्वको टोली अनुसन्धान गर्न फागुन २९ गते सुर्खेत पुगेको थियो।
वीरेन्द्रनगर नगरपालिका-१ को जनजागरण सामुदायिक वनमा फागुन २३ गते मृत फेला परेकी इनिशाको बलात्कारपछि उच्च रक्तश्रावका कारण मृत्यु भएको फरेन्सिक रिपोर्टबाट पुष्टि भएको प्रहरीले जनाएको छ। यसमा थप प्राविधिक जाँच गर्न सिआइबी टोली सुर्खेत गएको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले पनि यो घटनामा छुट्टै टोली बनाएर अनुसन्धान गरिरहेको छ। उक्त अनुसन्धान पनि लगभग सकिएको सुर्खेतका एसपी सुधीरराज शर्माले जानकारी दिए।
उनका अनुसार सिआइबी प्रतिवेदन र केन्द्रीय विधि विज्ञान प्रयोगशालाको रिपोर्ट आउनासाथ अनुसन्धान टुंगिन्छ।
'हाम्रो अनुसन्धान लगभग सक्किएको छ। केही रिपोर्ट आउन बाँकी भएकाले मात्र ढिलाइ भएको हो,' उनले भने, 'टक्सिकोलोजिकल र बायो-सेरोलोजिकल परीक्षणको रिपोर्ट आउन बाँकी छ।'
'टक्सिकोलोजिकल' भन्नाले शरीरमा कुनै विषालु पदार्थ वा औषधिको उपस्थिति छ कि छैन भनेर जाँचिन्छ। भिसेरा परीक्षणबाट शरीरमा विषालु पदार्थ छ कि छैन भनेर यकिन हुन्छ।
त्यस्तै, बायो-सेरोलोजिकल परीक्षक भनेको रगत, वीर्य र शरीरका अन्य तरल पदार्थको जाँच हो। यसबाट यौनजन्य हिंसाका घटनामा योनिस्राव वा पीडितको शरीरमा पाइएका अन्य व्यक्तिको जैविक नमूना पहिचान गरिन्छ।
यी दुई रिपोर्ट र सिआइबी प्रतिवेदन आए यसै साता अनुसन्धानको फाइल सरकारी वकिल कार्यालयमा बुझाउने एसपी शाहीले बताए।
यसअघि फरेन्सिक रिपोर्टबाट बलात्कारपछि उच्च रक्तस्रावका कारण उनको मृत्यु भएको पुष्टि भएको उल्लेख गर्दै उनले अगाडि भने, 'सबै प्राविधिक जाँचको रिपोर्ट आएपछि अझै प्रस्ट हुन्छ।'
प्रहरीका अनुसार बलात्कार क्रममा धेरै बल प्रयोग गर्दा योनिभित्र हाइमनदेखि पाठेघरसम्म चोट पुगेकाले अत्यधिक रक्तस्राव भएको देखिन्छ।
यो घटनामा अहिलेसम्म चार जनालाई पक्राउ गरिएको छ। उनीहरू सबै १८ वर्षभन्दा मुनिका छन्। यीमध्ये एक जनालाई बलात्कार र कर्तव्य ज्यान कसुरमा अनुसन्धान भइरहेको छ भने बाँकीलाई कर्तव्य ज्यान कसुरमा मात्र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घटना भएको दिन फागुन २३ गते बिहान उनी ट्युसन जाने भन्दै घरबाट निस्किएकी थिइन्। कक्षा ११ मा पढ्ने उनी आफूसगै पढ्ने १६ वर्षीय किशोरसँग वीरेन्द्रनगर नगरपालिका-१ मा रहेको सामुदायिक वनको पार्कमा गएको प्रहरी अनुसन्धानमा खुलेको छ।
इनिशा र ती किशोर सँगसँगै सामुदायिक वनतिर जाँदै गरेको दृश्य सिसिटिभी फुटेजमा देखिएको छ। त्यति बेला उनीहरू दुई जना मात्र देखिएकाको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले जानकारी दिए। शव भेटिएको ठाउँ नजिकै ब्याग र जुत्ता फेला परेका थिए भने शव भएको ठाउँ रगताम्मे थियो।
यौनागंबाट अत्यधिक रगत बगेकाले भुइँमा पनि रगत लागेको प्रहरीले जनाएको छ। उनलाई एक ठाउँबाट अर्को ठाउँसम्म तान्दै वा घिसार्दै लगेको देखिने गरी शरीरमा कोतरिएको घाउहरू पनि भएको अनुसन्धान अधिकृतले जानकारी दिए।
'अत्यधिक रक्तस्राव भएपछि ती किशोरले आफ्ना नजिकका साथीहरूलाई फोन गरेर बोलाएको देखिन्छ। साथीहरू आइपुगेपछि पनि उनले अस्पताल लैजान कोसिस गरेको देखिँदैन,' अनुसन्धानमा संलग्न एक प्रहरीले भने, 'उनीहरूले केही स्थानीयलाई भने खबर गरिदिएका छन्।'
समयमै अस्पताल लगिएको भए इनिशाको मृत्यु हुने सम्भावना कम रहेको डाक्टरहरूको भनाइ छ।
यो घटनामा सामूहिक बलात्कारको आशंका गरिएको भए पनि अहिलेसम्मको अनुसन्धानबाट त्यो पुष्टि नभएको प्रहरी स्रोत बताउँछ। सबै प्राविधिक जाँचको रिपोर्ट आइसकेपछि नै यसबारे यकिन भन्न सकिने प्रहरीको भनाइ छ।
यसबीच इनिशाको परिवारले न्याय नपाएसम्म आफ्नी छोरीको शव दाहसंस्कार नगर्ने अडान लिएका छन्। उनको शव सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा राखिएको छ। काठमाडौं, बुटवल, सुर्खेत लगायत देशका विभिन्न भागमा न्यायको माग गर्दै प्रदर्शन पनि भइरहेको छ।