वीरगञ्ज महानगरपालिका वडा नं ११ श्रीपुरमा एक युवकको हत्या भएको छ।
वीरगञ्ज मुर्ली बस्ने २८ वर्षीय विकास चौरसियाको आइतबार हत्या भएको हो ।
घटनामा संलग्न भएको आशंकामा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। अनुसन्धानका लागि घरबेटीलाई समेत नियन्त्रणमा राखेको प्रहरीले जनाएको छ। घटना अनुसन्धानकै क्रममा रहेकाले प्रहरीले उनीहरुको परिचय गोप्य राखेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार पक्राउ पर्नेमा एक जना महिला र तीन पुरूष छन्।
स्थानीयका अनुसार दिउँसोदेखि नै घटना भएको घरमा अपरिचित मानिसहरुको चहलपहल बढेको थियो । चर्को स्वरमा म्युजिक बजाएर युवकलाई कुटपिट गरिएको थियो । छेउको घरमा सुतिरहेको बालक उठेर आफ्नो घरको बरण्डाबाट तल हेर्दा केहि मानिसहरु मिलेर एक जनालाई कुटपिट गरेको देखेपछि हो-हल्ला भएको थियो।
तर भित्रबाट ढोका लगाएर उनीहरु बसेका कारण स्थानीय भित्र गएर उद्धार गर्न सकेनन्। जति आग्रह गर्दा पनि भित्रबाट ढोका नखोलेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरी आएपछि ढोका खोलिएको थियो ।
टोलबासीले प्रहरीलाई खबर गरेपछि शंकास्पद मानिसहरुलाई पनि घेरेर राखेका थिए। आँखा छलेर भागेका उनीहरुलाई लखेटेर पक्राउ गर्न सफल भएको स्थानीय युवाहरु बताउँछन्।