वीरगञ्जमा आइतबार हत्या गरिएका २८ वर्षीय विकास चौरसिया प्रहरी नै रहेको पुष्टि भएको छ।
अनुसन्धानको क्रममा प्रहरीले विकास प्रहरी जवान पदमा कार्यरत रहेको पत्ता लगाएको हो।
पर्साको कालिकामाई गाउँपालिका वडा नं १ घर भएका विकास जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत थिए। बिदामा घर आएको बेलामा आइतबार उनको हत्या भएको हो। हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
प्रहरीले रौतहटको माधव नारायण नगरपालिका वडा नं १ घर भई वीरगञ्जमा डेरा गरी बस्ने २६ वर्षीय सन्तोष साह, २४ वर्षीया सोनी कुमारी, बाराको महागढीमाई नगरपालिका वडा नं ७ घर भएका १९ वर्षीय विशाल साह र भारतीय नागरिक ओम विर प्रजापतिलाई पक्राउ गरेको हो।
सन्तोष र सोनी श्रीमान श्रीमती हुन्। उनीहरूले नै भाडामा लिएको कोठामा विकासको हत्या भएको थियो। स्थानीयका अनुसार चर्को आवाजमा म्युजिक बजाएर विकासलाई कुटपिट गरिएको थियो। छेउको घरमा सुतिरहेको बालक उठेर आफ्नो घरको बरण्डाबाट तल हेर्दा केही मानिसहरू मिलेर एक जनालाई कुटपिट गरेको देखेपछि होहल्ला गरेको थियो।
तर भित्रबाट ढोका लगाएर उनीहरू बसेका कारण स्थानीय भित्र गएर उद्धार गर्न सकेनन्। जति आग्रह गर्दा पनि भित्रबाट ढोका नखोलेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरी आएपछि ढोका खोलिएको थियो। टोलबासीले प्रहरीलाई खबर मात्रै गरेनन्, शंकास्पद मानिसहरूलाई घेरेर राखे। आँखा छलेर भागेका उनीहरूलाई लखेटेर पक्राउ गर्न सफल भएको स्थानीय युवाहरू बताउँछन्।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले घटनाबारे थप अनुसन्धान भइरहेको बताएका छन्।
शंकास्पद व्यक्तिहरूसँग सोधपुछ गर्ने कार्य भइरहेको उनको भनाइ छ।
‘उनीहरूको डेरामा विकास किन गए? किन र कसरी उनको हत्या गरियो? भन्नेबारे थप अनुसन्धान गरिरहेका छौं,’ डिएसपी हरिबहादुरले भने।