चैत १९ देखि देशभर सञ्चालन भएको एसइई परीक्षा चैत २९ गते सकिएको छ।
यसपालि एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने सरकारले निर्णय गरेको छ। त्यसका लागि परीक्षा केन्द्रहरूलाई जाँच सकिएको तीन दिनभित्र नतिजा पठाउन राष्ट्रिय परीक्षा बोर्डले निर्देशन दिएको थियो।
साथै, अन्तिम परीक्षा सकिएपछि सम्बन्धित विषयको नतिजा, उत्तरपुस्तिका तथा परीक्षासम्बन्धी सबै कागजात वैशाख ५ गतेभित्र बुझाउनू भन्ने बोर्डको निर्देशन छ।
हामीले यसको कार्यान्वयनबारे काठमाडौं, ललितपुर र भक्तपुरका शिक्षा इकाईहरूसँग कुरा गरेका छौं।
यी तीन जिल्लामध्ये भक्तपुरमा एसइई परीक्षाका सबै विषयको कापी जाँच्ने काम पूरा भइसकेको छ।
जिल्ला शिक्षा विकास तथा समन्वय इकाई भक्तपुरकी प्रमुख कमला ज्ञवालीका अनुसार आज सोमबार नै सबै विषयको नतिजा र उत्तरपुस्तिकासहित सम्पूर्ण कागजात परीक्षा बोर्डमा बुझाइएको छ।
'आज हामीले सबै परीक्षा केन्द्रको नतिजा र उत्तरपुस्तिका परीक्षा बोर्डमा बुझाएका छौं,' उनले सेतोपाटीसँग भनिन्, 'हामीले आफ्नो जिम्मेवारी समयअगावै पूरा गरेका छौं।'
भक्तपुरमा २४ वटा परीक्षा केन्द्र थिए। तीमध्ये एउटा कारागार केन्द्रमा विद्यार्थी नभएकाले २३ वटा केन्द्रमा मात्र परीक्षा सञ्चालन भएको थियो। ती केन्द्रमा ६ हजार ६७ विद्यार्थी सहभागी भएकामा एक–दुई जनाले परीक्षा नदिएको हुनसक्ने उनले बताइन्।
'हामीले विषयगत प्राप्तांक समावेश गरिएका नतिजा र उत्तरपुस्तिका बोर्डलाई बुझाइसकेका छौं,' उनले भनिन्, 'नतिजा त पहिले नै बुझाएका थियौं, उत्तरपुस्तिका भने आज बुझाएका हौं।'
ललितपुरले पनि सोमबार साँझसम्म सबै विषयको नतिजा र उत्तरपुस्तिका परीक्षा बोर्डमा बुझाइसक्ने जानकारी दिएको छ।
जिल्ला शिक्षा विकास तथा समन्वय इकाई ललितपुरका प्रमुख प्रकाश सापकोटाका अनुसार जिल्लाभित्र ४० वटा परीक्षा केन्द्रमा करिब १० हजार ५ सय विद्यार्थीले परीक्षा दिएका छन्।
ती सबै परीक्षा केन्द्रले चैत २६ गतेसम्मका उत्तरपुस्तिका जाँचेर नतिजा पठाइसकेका छन्। चैत २९ गते भएको प्राविधिक विषयको उत्तरपुस्तिकाको नतिजा सोमबार साँझसम्म बुझाइने उनले बताए।
'परीक्षा केन्द्रहरूले आज साँझसम्म सबै नतिजा र उत्तरपुस्तिका बुझाउने बताएका छन्। त्यसैले हामी पर्खिरहेका छौं,' उनले भने, 'यदि आजै सबै केन्द्रले नतिजा र उत्तरपुस्तिका बुझाए भने वैशाख २ गते परीक्षा बोर्डमा बुझाउनेछौं।'
उनले थपे, 'भोलि नयाँ वर्षको सार्वजनिक बिदा भएकाले पर्सि बुझाउने तयारी छ। निर्धारित समयभित्र बुझाउन हामीलाई कुनै समस्या छैन।'
सरकारले परीक्षा सकिएको एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने निर्णय गरेकाले तोकिएको समयमै काम सम्पन्न गर्न कुनै कठिनाइ नभएको उनले बताए।
जिल्ला शिक्षा विकास तथा समन्वय इकाई काठमाडौंमा पनि परीक्षा केन्द्रहरूको नतिजा बुझ्ने काम जारी छ।
समन्वय इकाईमा कार्यरत हिराकुमारी गौतमका अनुसार सोमबार दिनभर परीक्षा केन्द्रहरूबाट नतिजा र उत्तरपुस्तिका बुझ्ने क्रम जारी रह्यो।
'अहिले हामी नतिजा संकलन गरिरहेका छौं। अझै कति केन्द्रबाट बुझाउन बाँकी छ भन्ने विवरण संकलन भइरहेको छ,' उनले भनिन्।
काठमाडौंमा १३७ परीक्षा केन्द्रमार्फत करिब ४० हजार विद्यार्थीले परीक्षा दिएका छन्। तीमध्ये एक–दुई जनाले परीक्षा नदिएको हुनसक्ने जानकारी इकाईले दिएको छ।
***