मंगलबारदेखि नेपाली नयाँ वर्ष अर्थात् २०८३ आरम्भ भएको छ।
वर्ष २०८२ अरू वर्ष झैं सामान्य रूपमा बितेको पक्कै होइन। यस वर्षमा सामाजिक, राजनीतिक, आर्थिक क्षेत्रमा उथलपुथल सिर्जना भयो।
२०८२ राजनीतिक पानीढलोको वर्ष पनि हो। वर्ष २०८२ मा जेनजी आन्दोलनले नेपाली कांग्रेस, नेकपा एमालेलाई विस्थापित मात्रै गरेन। त्यही आन्दोलनको जगमा भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी दुईतिहाइ मतका साथ निर्वाचित भयो।
राजनीतिक आन्दोलनमा पृथक आयाम बनेको जेनजी विद्रोहले युवाहरूलाई सदन र सत्तामा पुर्यायो। ३६ वर्षे वालेन्द्र शाहले मुलुकको बागडोर सम्हालिरहेका छन्। संसदमा युवा सहभागिता उत्साहप्रद छ। मन्त्रिपरिषदमै ४० वर्षमुनिका युवाको सहभागिता उल्लेख्य छ।
२०८२ साल राजनीतिक हिसाबले त उतारचढावपूर्ण वर्ष रह्यो नै, अन्य क्षेत्रमा पनि सम्झन र बिर्सन लायक थुप्रै घटना दुर्घटना भए।
जेनजी आन्दोलनले राजनीतिक अवस्था परिवर्तन भयो तर आर्थिक क्षेत्रमा ठूलो क्षति हुन पुग्यो। भाटभटेनी लगायत थुप्रै उद्योग व्यवसाय ध्वस्त भए। भदौ २४ को विध्वंशले सबैभन्दा बढी प्रभावित भाटभटेनी सबैभन्दा छिटो उठ्यो पनि। आगलागीमा पूर्ण क्षति भएका धेरै आउटलेट सञ्चालनमा आइसकेका छन्।
यो वर्ष विगतका वर्षहरूमा जस्तै सडक दुर्घटनाको नियति पनि बेहोर्नुपर्यो। खासगरी धादिङ बस दुर्घटना बिर्सनलायक घटना बन्यो। चरौंदीमा भएको दुर्घटनामा ३ विदेशीसहित १९ जनाले ज्यान गुमाए।
खेल क्षेत्रतर्फ त्रिवि क्रिकेट रंगशाला फ्लड लाइटले सजियो र पहिलो पटक नेपालीहरूले रात्रिकालीन क्रिकेटको आनन्द लिन पाए। ख्यातिप्राप्त अन्तर्राष्ट्रिय खेलाडीहरूको आगमनले रौनक थपियो।
ब्राजिलका प्रख्यात फुटबल खेलाडी रोबर्टो कार्लोसको आगमनले नेपालको प्रचार अन्तर्राष्ट्रिय स्तरसम्म हुन सहयोग पुग्यो। नेपाल सुपर लिगका लागि उनलाई नेपाल ल्याइएको थियो।
आर्थिक क्षेत्रमा यो वर्ष उल्लेख्य रहेन। त्यसै पनि शिथिल निजी क्षेत्र जेनजी आन्दोलनले झन् थलियो। यसै वर्ष राष्ट्र बैंकको नयाँ गभर्नरमा विश्व पौडेल नियुक्त भए।
यही वर्ष मधेश खडेरीले आक्रान्त बन्यो। धानले हरियाली हुनुपर्ने खेतहरूमा धाँजा फाटे।
उता रसुवमा बाढीले विध्वंश मच्चाउँदा चीनसँगको नाका लामो समय बन्द हुन पुग्यो। सयौं गाडी बाढीमा बगे, पुरिए।
मनोरञ्जन क्षेत्रतर्फ भारतबाट आएका नोरा फतेही, सञ्जय दत्त, सोनु निगम लगायतले काठमाडौं तताए।
उता इजरायलमा हमासको आक्रमणमा परी विपिन जोशीले ज्यान गुमाउनुपर्यो। लामो समयसम्म बन्धक बनाइएको उनको त्यही
अवस्थामै ज्यान गयो। उनको शव नेपाल ल्याएर राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरियो।
तस्बिर: नेपाल फोटो लाइब्रेरी
जेनजी आन्दोलनका क्रममा जलाइएको सिंहदबार।
जेनजी आन्दोलनबाट केपी ओली नेतृत्वको सरकार विस्थापित भएपछि प्रधानमन्त्री बनेकी सुशीला कार्की।
-ink-1776145388.jpeg)
तिब्बतबाट आएको बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत परियोजना।
जेनजी आन्दोलनका क्रममा जलाइएको भाटभटेनी सुपरस्टोर।
राजावादीहरूको आन्दोलनका क्रममा तोडफोड, आगजनी र मानिस समेतको मृत्यु भएपछि राजद्रोह र संगठित अपराध समेतको अभियोगमा प्रहरीले हिरासतमा लिएका रवीन्द्र मिश्र।
खडेरीग्रस्त तराई–मधेस।
भेलबाढीपछि खण्डहर केरूङ नाका।
जेनजी आन्दोलनमा दमन गरेको अभियोगमा पक्राउ परेका पूर्वगृहमन्त्री रमेश लेखक। आन्दोलनका बेला उनी गृहमन्त्री थिए।
नयाँ सांसदहरूको शपथ। २०८२ फागुन २१ गते भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले दुईतिहाइ मत ल्यायो।
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते प्रहरीको हतियार खोसेर प्रदर्शन गरिरहेका आन्दोलनकारी।
पतञ्जली प्रकरणमा भ्रष्टाचारको मुद्दा लागेपछि बयान दिन जाँदै गरेका माधव नेपाल।
जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ परेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली। उनी अहिले हाजिरी जमानीमा रिहा भइसकेका छन्।
जेनजी आन्दोलनका क्रममा जलाइएको नक्सालको हिल्टन टावर।
जेनजी आन्दोलनका क्रममा जलाइएको बानेश्वरमा रहेको तत्कालीन संसद भवन।
खडेरीले रोपो सुकेपछि वर्षाको प्रार्थना गरिरहेका कृषक।
बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टीमा समाहित भएपछि पहिलोपटक पार्टी कार्यालय पुग्दा देखिएको माहौल।
हमासले बन्दी बनाएकै ठाउँमा मारिएका विपिन जोशी। अध्ययन भ्रमणमा इसराइल पुगेका बेला उनलाई हमासले बन्धक बनाएको थियो।
धादिङ बस दुर्घटना।
जेनजी आन्दोलनपछि २०८२ फागुन २१ मा भएको प्रतिनिधि सभा निर्वाचन। उक्त निर्वाचनमा रास्वपाले दुईतिहाइ मत ल्याएको थियो।
फ्लड लाइटको उज्यालोमा त्रिवि रंगाशाला।
प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन शाह र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ।
प्रधानमन्त्री बालेन शाहको पद तथा गोपनीयताको शपथ।
निवर्तमान प्रधानमन्त्री सुशीला कार्की र प्रधानमन्त्री बालेन शाहबीचको सौहार्दता।
नवनियुक्त मन्त्रीहरूको शपथ।
जेनजी आन्दोलनका क्रममा बानेश्वरतर्फ अघि बढेको जुलुस।