अमिशा पराजुलीले दिएको उजुरीका आधारमा पक्राउ परेका व्यक्ति १५ हजार धरौटीमा छुटेका छन्।
नेकपा एमालेको विरोध कार्यक्रममा जाँदा आफूमाथि डिटिजल यौनहिंसा भएको भन्दै २० वर्षीया पराजुलीले साइबर ब्युरोमा उजुरी दिएकी थिइन्।
सोही उजुरीका आधारमा रौतहटको गुजरा नगरपालिका-२ बस्ने २४ वर्षीय अभिषेक चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो।
पक्राउ परेको व्यक्तिलाई चैत २९ गते १५ हजार रूपैयाँ धरौटीमा छोडिएको साइबर ब्युरोका एसपी दिलिपकुमार गिरीले जानकारी दिए।
'अमिशाको उजुरीमा अहिलेसम्म पक्राउ परेका एक जना थिए। उनलाई धरौटीमा छोडेका छौं,' उनले भने, 'अरू व्यक्तिको विवरण मेटा (फेसबुक) बाट मागिरहेका छौं।'
उनका अनुसार चैत ३० गते साँझ ५ बजेसम्म मेटाले विवरणबारे केही पनि जानकारी गराएको छैन। अमिशाले १९ वटा फेसबुक आइडीविरूद्ध कानुनी कारबाही हुनुपर्ने माग गर्दै जाहेरी दिएकी छन्।