बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१२, कोरियनपुरमा शरीरमा आगो लागेर मृत्यु भएकी २२ वर्षीया सिर्जना बुढामगरको घटनापछि फरार रहेका थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले भारतीय प्रहरीको सहयोगमा उनीहरूलाई पक्राउ गर्न सफल भएको जानकारी दिए।
उनका अनुसार पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–१२ निवासी ५० वर्षीय रहमद ढपाली र उनका छोरा २१ वर्षीय मोहम्मद आदिल ढपाली रहेका छन्।
यसअघि सो घटनामा संलग्न रहेको भन्ने पीडित पक्षको किटानी जाहेरीका आधारमा मोहम्मद आरिफ ढपाली, उनकी आमा र दिदीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। हाल पक्राउ परेका रहमद ढपाली मोहम्मदकै बुबा हुन्।
बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१२, कोरियनपुरमा शरीरमा आगो लागेर मृत्यु भएकी २२ वर्षीया सिर्जना बुढामगरको घटनाबारे छानबिन गर्न प्रहरीले अनुसन्धान टोलीसमेत गठन गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान टोली गठन भएको थियो।
उनीहरू पक्राउ परेसँगै सो घटनामा पक्राउ हुनेको सङ्ख्या पाँच पुगेको छ।