प्युठानको एक जंगलमा गोली लागेर एक किशोरको मृत्यु भएको छ।
गौमुखी गाउँपालिका–४ सुँङगुरखालको चुपाल सामुदायिक वनमा जंगली जनावर बँदेल ठानेर हानिएको गोली लागेर एक किशोरको मृत्यु भएको हो।
चैत २९ गते नौंबहनी गाउँपालिका–४ का १९ वर्षीय सुशिल परियारमाथि गोली लागेको हो। उनीसँगै बसेकी गौमुखी-४ की १८ वर्षीया किशोरी घाइते छिन्। उनको पनि लुम्बिनी सिटी हस्पिटल बुटुवलमा उपचार जारी छ। किशोरीको अवस्था भने खतरा मुक्त रहेको एक प्रहरी अधिकारीले बताए।
प्रहरीका अनुसार २७ वर्षीय वीरेन्द्र केसीसहित ४ जना सामुदायिक वनमा शिकार खेल्न गएका थिए। उनले टाढैबाट जंगली जनावर बँदेल ठानेर गोली प्रहार गरेका थिए। दौडिएर हेर्न जाँदा गोली लागेर परियार र किशोरी घाइते अवस्थामा फेला परेका थिए।
गम्भीर अवस्थामा परियार र किशोरीको उद्धार पछि जिल्ला अस्पताल पुर्याइएको थियो। त्यहाँबाट दुबैलाई थप उपचारका लागि लुम्बिनी सिटी हस्पिटल बुटवल पुर्याइएको थियो। उपचारका क्रममा परियारको चैत ३० गते मृत्यु भएको थियो।
परियारको हत्या आरोपी केसीलाई चैत ३० गते र उनीसँगै शिकार खेल्न जंगल गएका अन्य तीन जनालाई प्युठान प्रहरीले सोमबार पक्राउ गरेको छ। प्रहरीले लुकाएर राखेका दुई थान भरूवा बन्दुक पनि बरामद भएको जानकारी दिएको छ।
अवैध रूपमा घरमा लुकाएर राखेको हतियार र चोरी शिकारी गर्ने कार्यमा संलग्न चारै जनालाई ज्यान मुद्दा र हातहतियार मुद्दा चलाउने गरी अनुसन्धान अगाडि बढाउने तयारी गरेको छ।
प्रहरीले बुधबार बेलुका ४ बजे जिल्ला प्रहरी कार्यालय प्युठानमा पत्रकार सम्मेलन मार्फत थप विवरण सार्वजनिक गर्ने तयारी गरेको छ।