काठमाडौं मेडिकल कलेजमा मस्तिष्कको जटिल शल्यक्रिया सफल भएको छ।
इटहरीकी ५२ वर्षीया महिलाको काठमाडौं मेडिकल कलेजमा जटिल शल्यक्रिया सम्पन्न भएको छ।
अचानक दिमागमा रगत बग्ने गम्भीर समस्या लिएर आपतकालीन कक्षमा ल्याइएकी ती महिलाको मस्तिष्कमा तीन वटा एन्युरिज्म (नसा फुल्ने समस्या) देखिएको थियो भने एउटा फुटेर रगत बगेको थियो।
यस्तो समस्याको उपचार टाउको नखोलिकन संभव भएको अस्पतालका न्युरो इन्टरभेन्सनिस्ट डा. अरुण पौडेलले बताए।
‘चिकित्सक टोलीले छिटो निर्णय गर्दै अत्याधुनिक बाइप्लेन क्याथ ल्याबमा कोइलिङ विधि प्रयोग गरेर फुटेको एन्युरिज्मको उपचार गर्यो र रगत बग्न रोकेको थियो,’ डा.पौडेलले भने, 'बाँकी दुई वटा नफुटेका एन्युरिज्मलाई फ्लो डाइभर्टर प्रविधिबाट उपचार गरियो। यस प्रविधिले नसा बलियो बनाउँदै बिस्तारै एन्युरिज्मलाई बन्द गर्न सहयोग गर्छ।’
उपचारपछि बिरामीको अवस्था सुधार हुँदै गएको र सुरक्षित रूपमा अस्पतालबाट घर पठाइएको उनले बताए।