आँखा स्वास्थ्य सेवा, चिकित्सा शिक्षा र अनुसन्धान विस्तार गर्ने लक्ष्य सहित तिलगंगा आँखा प्रतिष्ठान र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबीच सहकार्य सम्झौता भएको छ।
बुधबार सम्पन्न उक्त सम्झौताले दुवै संस्थाबीच शैक्षिक आदानप्रदान, संयुक्त अनुसन्धान र सेवा प्रवाहलाई संस्थागत रूपमा अघि बढाउने आधार तयार गरेको छ।
सम्झौताअनुसार तिलगंगाका प्राध्यापकहरूले बीपी प्रतिष्ठानमा नियमित रूपमा आँखा सम्बन्धी उपविशेषज्ञ सेवाअन्तर्गत ओपिडी तथा शल्यक्रिया सञ्चालन गर्नेछन्। यससँगै प्राध्यापक र रेसिडेन्ट चिकित्सकका लागि नियमित शैक्षिक कक्षा सञ्चालन गरिनेछ भने रेटिनोप्याथी अफ प्रिम्याच्योरिटी (आरओपी) स्क्रिनिङ, लेजर तथा अन्य उपविशेषज्ञ शल्यक्रिया सम्बन्धी तालिमसमेत प्रदान गरिने सम्झौता पत्रमा उल्लेख छ।
दुवै संस्थाबीच क्लिनिकल तथा सामुदायिक आँखा स्वास्थ्यका क्षेत्रमा संयुक्त अनुसन्धानलाई समेत प्राथमिकतामा राखिएको छ।
प्रतिष्ठानलाई सहकार्यात्मक अनुसन्धान केन्द्रका रूपमा समावेश गरी विभिन्न परियोजनाहरू सञ्चालन गरिने समझदारी बनेको छ।
साथै बीपीका रेसिडेन्ट चिकित्सकहरूलाई तिलगंगामा विभिन्न उपविशेषज्ञ क्लिनिकहरूमा क्लिनिकल पोस्टिङको अवसर उपलब्ध गराइनेछ।
सम्झौताले प्राध्यापकहरूको क्षमता अभिवृद्धिमा पनि जोड दिएको छ।
सम्झौतापत्रमा तिलगंगाका कार्यकारी प्रमुख डा. सन्दुक रुइत र बीपीका उपकुलपति डा. विक्रम प्रसाद श्रेष्ठ ले हस्ताक्षर गरेका छन् ।