संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गर्न लागेका केही नेपाली नागरिकको राहदानीमा प्रस्थान छापसँगै 'Employment is strictly prohibited. Visit till 10/6/2026' भन्ने उल्लेख गरिएको भन्ने समाचार तथा सामाजिक सञ्जालमा आएका टिप्पणीप्रति अध्यागमन विभागले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
विभागले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा धेरै नेपालीका लागि विदेश यात्रा रहर मात्र नभई राम्रो अवसरको खोजी र कहिलेकाहीँ बाध्यता पनि हुने यथार्थ रहेको उल्लेख गरेको छ। यही बाध्यतालाई आधार बनाएर विभिन्न तहमा हुने ठगी र शोषण नियन्त्रण गर्न अध्यागमन प्रशासनले प्रयास गरिरहेको पनि विज्ञप्तिमा भनिएको छ।
नेपाल सरकारको २०८२ कात्तिक १३ को निर्णयअनुसार भिजिट भिसामा विदेश जाने नेपाली नागरिकका लागि कम्तीमा ६ महिना वैध अवधि भएको राहदानी, गन्तव्य मुलुकसम्मको हवाई टिकट र सम्बन्धित देशको भिसा भएमा स्वघोषणासहित प्रस्थान गर्न पाउने व्यवस्था गरिएको विभागले स्पष्ट पारेको छ। यस निर्णयले विदेश यात्रालाई थप सरलीकृत र व्यवस्थित बनाएको विभागको भनाइ छ।
अध्यागमन विभागका निर्देशक तथा प्रवक्ता टीकाराम ढकालले जारी गरेको विज्ञप्तिमा विभागले यात्रुहरूको आगमन तथा प्रस्थान प्रक्रियालाई झन्झटरहित बनाउन नीतिगत सहजीकरण र अध्यागमन प्रणालीको आधुनिकीकरणमा पनि काम भइरहेको जनाएको छ।
प्रचलित कानुन वा विभागीय निर्णयभन्दा बाहिर गई कुनै नेपाली नागरिकलाई शर्त तोकेर प्रस्थान अनुमति दिने अध्यागमन प्रशासनको कुनै नीति वा निर्णय नभएको विभागले स्पष्ट पारेको छ। यदि त्यस्तो गैरकानूनी अभ्यास भएको पाइएमा सम्बन्धित कर्मचारीमाथि कारबाही गर्न आन्तरिक छानबिन प्रक्रिया अगाडि बढाइएको पनि विभागले जनाएको छ।