प्यूठानमा चैत २९ गते भएको एक गोलीकाण्डमा एउटा साधारण मोबाइलबाट अभियुक्तको पहिचान खुलेको प्रहरीले जनाएको छ।
पुरानो डिजाइनको कि-प्याडवाला उक्त मोबाइल घटनास्थलमै फेला परेको थियो।
त्यो रात करिब ११ बजेतिर प्यूठानको गौमुखी गाउँपालिका–४ सुंगुरखालस्थित चुपाल सामुदायिक वनमा गोली चल्दा एक जनाको मृत्यु भएको थियो भने अर्का एक घाइते भएका छन्।
भरूवा बन्दुकको गोली लागेर मृत्यु हुनेमा नौंबहनी गाउँपालिका–४ का १९ वर्षीय सुशील परियार छन्। उनको टाउको र काँधको पछाडि भागमा गोली लागेको थियो। उनीसँगै बसेकी १८ वर्षीया किशोरी घाइते छिन्। उनको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचार जारी छ।
यी दुवै जना वन क्षेत्रमा रहेका बेला अज्ञात व्यक्तिबाट गोली चलाइएको प्रारम्भिक जानकारी प्रहरीले पाएको थियो।
त्यसलगत्तै प्रहरी पुग्दा किप्याड भएको पुरानो डिजाइनको मोबाइल घटनास्थलमा फेला पर्यो।
अनुसन्धानमा संलग्न प्यूठानका प्रहरी प्रमुख डिएसपी नरहरि अधिकारीका अनुसार उक्त मोबाइलमा लगातार कल आइरहेको थियो। प्रहरीले त्यसलाई आफ्नो अनुसन्धानको मुख्य आधार बनायो।
प्रहरीले फोनको विवरण खोजी गर्दा उक्त मोबाइल गौमुखी गाउँपालिका–४ खलाबाङका २७ वर्षीय विक्रम केसीको भएको पुष्टि भयो। त्यसपछि केसीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले गोली प्रहार गरेको स्वीकार गरे।
प्रहरीका अनुसार सोधपुछ क्रममा केसीले आफू आफ्ना भाइ र अन्य दुई जनासँग शिकार खेल्न वन क्षेत्रमा गएको बताएका छन्।
फर्किने क्रममा झाडी हल्लिएर पातपतिंगर र प्लास्टिक बजेको आवाज सुनेपछि जंगली बँदेल ठानेर भरूवा बन्दुकबाट गोली चलाएको बयान केसीले दिएको प्रहरीले जनाएको छ।
'जंगली बँदेल फेला पर्यो भन्ठानेर भरूवा बन्दुक चलाएको थिएँ,' केसीको बयान उद्धृत गर्दै डिएसपी अधिकारीले भने, 'मैले चलाएको बन्दुकको गोली लागेर मानिसहरू छटपटाउँदै चिच्याउन थालेपछि डर लाग्यो। हामी चारै जना त्यहाँबाट भाग्यौं।'
फसिने डरले आत्तिँदै भाग्दा विक्रमको मोबाइल घटनास्थलमै झरेको र त्यसैबाट अनुसन्धान अघि बढाउन सहज भएको डिएसपी अधिकारीले जानकारी दिए।

प्रहरीले घटनामा प्रयोग भएको बन्दुक पनि बरामद गरेको छ। विक्रमकै बयानका आधारमा उनको घरबाट झन्डै पाँच सय मिटर टाढाको खर्याङ बारीमा रहेको ओडारमा उक्त बन्दुक लुकाएर राखेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक हरि भट्टराईले बताए।
त्यस्तै, केसीले लुकाइछिपाइ राखेको एक थान पुरानो र खिया लागेको अर्को एक नाले बन्दुक पनि उनको गोठबाट बरामद गरेको प्रहरी निरीक्षक भट्टराईले जानकारी दिए।
घटनामा संलग्न अन्य तीन जनालाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
मृतकका परिवारले ज्यानसम्बन्धी कसुरमा उजुरी दिएपछि चारै जनाविरूद्ध मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ।