सल्यानका एक युवकको मृत्यु प्रकरणमा बाबुछोरी पुर्पक्षका लागि थुनामा पठाइएका छन्।
दार्मा गाउँपालिका–६ का २६ वर्षीय बालकृष्ण चन्दको शव गत फागुन ३० गते कुमाख–५ ठूलाखोलास्थित खोल्सामा फेला परेको थियो। सडेगलेको अवस्थामा फेला परेको शवको एउटा खुट्टा नै थिएन। अनुहार पनि क्षतविक्षत अवस्थामा फेला परेको थियो।
त्यसको ५ दिनपहिले नै बालकृष्ण घरपरिवारले खोजी थालेका थिए।
सडेगलेको अवस्थामा बालकृष्णको शव फेला परेपछि उनको परिवारले कुमाख गाउँपालिका–५ तिमिलकाँडाका ६५ वर्षीय बाबु दलवीरे घर्ती र उनकी ३९ वर्षीया छोरी शर्मिला घर्तीका विरूद्ध किटानी जाहेरी दिएका थिए।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार बालकृष्णको परिवारको जाहेरीका आधारमा घटना अनुसन्धानका लागि घर्तीका बाबुछोरीलाई प्रहरीले चैत ३ गतेतिर नियन्त्रणमा लिइएको थियो।
अनुसन्धानबाट विदेशमा बस्दा शर्मिला र मृतक बालकृष्णका बीच चिनजान भएको खुलेको थियो। उनीहरू फरक फरक देशमा थिए भन्ने खुलेको प्रहरी निरीक्षक भट्टराईले बताए। घर फर्किएपछि बालकृष्ण शर्मिलाको घरमा आउजाउ गर्न थालेका थिए।
शर्मिलाको पहिलेका श्रीमानसँग सम्बन्ध विच्छेद भइसकेको थियो। बालकृष्ण केही समय शर्मिलाकै घरमा बसेका पनि थिए। घरपरिवारले बालकृष्णलाई शर्मिलाको घरबाट फर्काएर लगेका थिए।
प्रहरीका अनुसार बालकृष्ण अन्तिम समयमा पनि घरबाट शर्मिलालाई नै भेट्ने भनेर घरबाट आएका थिए। त्यसपछि उनी सम्पर्कविहीन भएका थिए। घरपरिवारले खोजी गर्ने क्रममा उनको शव सडेगलेको अवस्थामा खोल्सामा फेला परेको थियो।
उनको शवको अवस्थाले त्यो जंगली जनावरले खाएको हुन सक्ने प्रहरीको तत्कालीन आशंका थियो। पोस्टमर्टम रिपोर्टले पनि मृत्युको कारण स्पष्ट उल्लेख गरेको थिएन।
शर्मिला र उनका बाबुले फस्ने डरले शव खोल्सामा लगेर फालेको प्रहरीसमक्ष बयान गरेका थिए। बाबुछोरीको दाबी अनुसार त्यो दिन बालकृष्ण उनीहरूको घरमा आएर आत्महत्या गरेका थिए।
बालकृष्णले आफ्नो घरमा आई आत्महत्या गरेको हुँदा फस्ने त्रासले आफूहरूले नै शव खोल्सामा लगेर फालेको उनीहरूले बयान गरेको प्रहरी निरीक्षक भट्टराईले बताए।
यो मुद्दामा अध्ययनपछि प्रहरीले सरकारी वकिल कार्यालयलाई बाबुछोरी विरूद्ध ज्यान सम्बन्धी कसुरमा मुद्दा चलाउन र सोही अनुसार कानुनी कारबाहीको मागदाबी गरेको थियो।
जिल्ला अदालतले बैशाख २ गते घर्तीका बाबुछोरीलाई मुद्दाको अन्तिम फैसला नहुँदासम्म पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको प्रहरी निरीक्षक भट्टराईले बताए।