बुटवलका विभिन्न स्थानबाट प्रहरीले एकै दिन गरेको चेक जाँचका क्रममा फेला परेका ४८ वटा अटो रिक्सालाई कारबाही गरेको छ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय लुम्बिनी र इलाका प्रहरी कार्यालय बुटवलले गरेको संयुक्त चेक जाँचका क्रममा यी सवारी साधन कारबाहीमा परेका हुन्।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवलको भुडकीचोक देविनगर, तिनकुने, अमरपथ लगायतका क्षेत्रमा गरेको चेकजाँचका क्रममा ४८ वटा अटो रिक्सा कागजात बिना सञ्चालनमा रहेको पाइएपछि कारबाही गरेको हो।
‘हामीले एकै दिन विभिन्न स्थानमा ११२ वटा अटो रिक्सा चेकजाँच गरेका थियौं। ती मध्ये ४८ वटा अटो रिक्सा चालकहरूले ब्लु वुक र सवारी चालक अनुमति पत्र नलिएको पाइएकोले यातायात व्यवस्था ऐनले तोके अनुसारको कारबाही गरिएको छ,’ इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी निशान्त श्रीवास्तवले भने।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय लुम्बिनीका प्रमुख प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले चेकजाँचका क्रममा नियम विपरीत सञ्चालन भएका अटो रिक्सा मध्ये ४० वटा लाई जरिवाना गरी छोडिएको र ८ वटा रिक्सालाई थप कारबाही गर्नुपर्ने भएकोले कार्यालय ल्याइएको बताए।
८ वटा अटो रिक्साहरूको कुनै पनि कागजात फेला परेन त्यसैले कारबाहीका लागि ल्याएका हौँ उनले भने। प्रहरी उपरीक्षक शर्माका अनुसार उनीहरूलाई गरेको कारबाहीबाट ९६ हजार रुपैयाँ राजस्व संकलन भएको छ।
बुटवल उपमहानगरपालिकाबाट दर्ता अनुमति नलिई सञ्चालन भएका अटो रिक्साहरूलाई कारबाही गर्नुपर्ने माग गर्दै अटो व्यवसायीहरूले बिहीबार बुटवल उपमहानगरपालिकामा धर्ना दिएका थिए।