धरान–चतरा सडकखण्डअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१८ भक्तिचोकस्थित सडकमा दुई वटा मोटरसाइकल ठोक्किँदा मृत्यु भएका एक जनाको सनाखत भएको छ।
मृत्यु हुनेमा बा प्र ०३–००५ प ७२१९ नम्बरको मोटरसाइकलमा पछाडि सवार मकवानपुरको बागमती गाउँपालिका–७ फापरबारी निवासी ४१ वर्षीय सूर्यबहादुर थोकर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।
हेटौँडाबाट फुर्केचौरतर्फ आउँदै गरेको ना३९प ३७५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको बा प्र ०३–००५ प ७२१९ नम्बरको मोटरसाइकल शुक्रबार साँझ ठोक्किँदा गम्भीर घाइते भएका थोकरको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
सोही दुर्घटनामा परी मकवानपुरको बागमती गाउँपालिका–६ निवासी ४० वर्षीय अन्तबहादुर बिसी, हेटौँडा उउपमहानगरपालिका–१८ निवासी ३५ वर्षीय राजु थिङ र प्र ०३–००५ प ७२१९ नम्बरको मोटरसाइकल चालक हेटौँडा उपमहानगरपालिका–१८ निवासी ३८ वर्षीय सूर्यमणि खतिवडा र १२ वर्षीय प्रशान्त वाइबा घाइते भएका छन्।
उनीहरुको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।