कर्णाली नदीमा डुंगा पल्टिँदा तीन दिनदेखि बेपत्ता बाबु छोराको खोजी कार्य शनिबार पनि जारी छ।
अछामको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानमा डुंगा पल्टिँदा तुर्माखाँद –३ बल्देका ३५ वर्षीय पहलसिंह बुढा र उनका १३ वर्षीय छोरा नरि बुढा बिहीबार बेलुकादेखि बेपत्ता छन्।
आफ्नो बुवा र दाजु डुंगा दुर्घटनामा परी बेपत्ता भएको खबर ९ वर्षीय बालकले गरेका थिए। डुंगा दुर्घटनापछि उनी पौडिएर ज्यान जोगाउन सफल भएका थिए।
‘कान्छो छोराले आफूसँगै सवार आफ्नो बुवा र दाजु डुंगा पल्टिँदा बेपत्ता भएको र आफू भने पौडिएर ज्यान जोगाउन सफल भएको भन्दै गाउँलेलाई खबर गरेका थिए,’ अछामका प्रहरी प्रमुख डिएसपी ओमप्रकाश खनालले भने, ‘त्यसलगत्तै स्थानीय र प्रहरी मिलेर बेपत्ता बाबु छोराको खोजी कार्य हुँदै आए पनि हालसम्म फेला पार्न सकिएको छैन ।’
प्रहरी प्रमुख खनालका अनुसार शनिबार बिहानदेखि प्रहरीको विभिन्न ४ वटा युनिटका १६ जना र सशस्त्र प्रहरीका ९ जनासहित स्थानीय मिलेर कर्णाली नदीमा बेपत्ता बाबु छोराको खोजी कार्य जारी छ।
गोताखोर सहितको सशस्त्र प्रहरीको टोली शुक्रबार बेलुकी ४ बजेपछि घटनास्थल पुगेर खोजी थालेको थियो ।
घाँसको झारीसहित तीन बाबु छोरा सवार आफैले बनाएको सानो काठको डुंगा पल्टिँदा ९ वर्षको एक बालकले भने पौडिएर कर्णाली नदी पार गर्दै ज्यान जोगाउन सफल भएको डिएसपी खनालले बताए ।
पौडी खेल्न जाने पनि बाबु छोरालाई डुंगा वा घाँसको भारी घोप्टिएर च्यापेको हुँदा डुब्न पुगेको हुन सक्ने प्रहरीको अनुमान छ।
‘तीन बाबु छोरा कर्णालीपारी सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका–७ स्थित जंगलबाट बस्तु चौपायाका लागि घाँस काट्न गएको र त्यहाँबाट घाँसको भारीसहित घर तर्फ फर्किने क्रममा आफैले निर्माण गरेको सानो काठको डुंगाबाट नदी तर्दै डुँगा दुर्घटनामा परेको भन्ने छ,' डिएसपी खनालले भने, ‘पौडिएर ज्यान जोगाउन सफल बालक घरमा आमा सँगै छन्। घर परिवारका अनुसार पहलसिंह र उनका छोराहरु प्रायजसो सोही डुँगा बाट नदी वार पार गर्ने गरेको खुलेको छ।’
पौडिएर ज्यान जोगाउन सफल ९ वर्षका बालकले दुर्घटना हुँदाका क्षण पनि डुंगा बुवाले खियाइ रहेका दाजु भाइ त्यसको पछाडि घाँसको भारी थामेर बसेको जानकारी दिएका थिए।
नदीमा बेपत्ता बाबु छोराको खोजी जारी रहेको छ।