कैलालीमा दुई जना बालकको झाडा पखालाका कारण मृत्यु भएको छ।
जिल्लाको चुरे गाउँपालिका–३ भक्तपुरका ८ वर्षीय भीम ताम्राकार र ५ वर्षीय दीपक ताम्राकारको शुक्रबार बेलुका मृत्यु भएको हो। उनीहरु सहोदर दाजु-भाइ हुन्।
कैलालीका प्रहरी प्रमुख एसपी नरेन्द्र चन्दले दुई दाजु भाइको झाडा पखालाका कारण मृत्यु भएको आशंका रहेको बताए।
‘बेलुका अस्पताल ल्याउँदा नै उनीहरु अचेत अवस्थामा थिए भन्ने छ,’ एसपी चन्दले भने, ‘झाडा पखालापछि डिहाइड्रेसनका कारण उनीहरूको मृत्यु भएको भन्ने छ।’
उनीहरूका एक जना ३ वर्षीय भाइ दिपेश र आमा २८ वर्षीया राधिका ताम्राकारको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ।
‘तीन आमा-छोरा गम्भीर अवस्थाका बिरामी रहेको भन्ने खबरपछि उद्धार गरी अस्पताल पुर्याइएको हो,’ एसपी चन्दले भने, ‘अस्पताल पुर्याउँदा दुई दाजु-भाइ अचेत थिए।'
प्रहरीको अनुसन्धानबाट राधिकाले छिमेकमै रहेको पोल्ट्री फार्मबाट वैशाख ३ गते बेलुकी मरेको कुखुरा लगेको खुलेको छ। पोल्ट्री फार्म सञ्चालकले पैसा नलिई मरेको कुखुरा दिएको खुलेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक कैलाश विष्टले जानकारी दिए।
त्यसअघि पनि राधिकाले फार्ममा मरेका कुखुराहरु सित्तैमा घरमा लगेर पकाइ खाने गर्दै आएको फर्म संचालकले प्रहरी समक्ष बताएका छन्।
फर्म संचालक मंगल साउदले चैत २७ गते बेलुका राधिकाले मरेको कुखुरा सित्तैमा लगेको बताएको प्रहरी निरिक्षक विष्टले जानकारी दिए। राधिकाले भने चैत ३० गते मात्रै मरेको कुखुरा फार्मबाट लगेको बताएकी छन्।
‘प्रारम्भिक अनुसन्धानबाट फार्ममा मरेको कुखुरा छ भने राधिकाले सित्तैमा लैजाने गरेको भन्ने खुलेको छ,’ प्रहरी निरीक्षक बिष्टले भने, ‘अनुसन्धानबाट बैशाख ३ गते पनि राधिकाले फर्मका कर्मचारीबाट कुखुरा लगेको र घरमा लगेर पकाएर खाएको देखिएको छ।’
प्रहरीले सोधपुछ गर्दा राधिकाले भने आफ्ना छोराहरूले बिहीबार धेरै किमुका फलहरू खाएपछि बिरामी परेको बताएकी छन्।
'फार्मबाट लगिएको कुखुराको मासु मैले मात्रै खाएको हुँ। छोराहरूले खाएका छैनन्। बरू उनीहरूले धेरै किमु फल खाएका थिए,' उनले प्रहरीसँग बताएकी छन्।
मृतक दाजु भाइको शव प्रादेशिक अस्पतालमै छ। पोष्टमर्टमपछि मात्रै उनीहरुको मृत्युको कारण भन्न सजिलो हुने प्रहरीले बताएको छ।