बर्दियामा एम्बुलेन्सको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। थप दुई जना घाइते भएका छन्।
जिल्लाको गुलरिया नगरपालिका– ५ का ५५ वर्षीय भूमिराज लामिछाने र उनका नाति ९ वर्षीय रिहान्स खरेलको मृत्यु भएको छ।
नातिको जिल्ला अस्पताल बर्दियामा र बाजेको बाँकेको नेपालगंजस्थित नरसिंह होममा उपचारका क्रममा मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय बर्दियाका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीका अनुसार एम्बुलेन्सको ठक्करबाट भूमिराजकी श्रीमती ५० वर्षीया सीता लामिछाने र ६५ वर्षीय सूर्य उपाध्याय घाइते छन्। उनीहरु दुवैको बाँकेको नेपालगंजमा उपचार भइरहेको छ।
भूमिराज योग गुरू हुन्।
उनीसहित ४ जना आइतबार बिहान सवा ५ बजे योग गर्न आयुर्वेद अस्पताल जाँदै थिए। सडक पार गर्ने क्रममा उनीहरूलाई एम्बुलेन्सले ठक्कर दिएको थियो।
प्रहरी निरीक्षक कार्कीका अनुसार बाँकेको कोहलपुरबाट बर्दियाको राजापुर तर्फ जाँदै गरेको लुम्बिनी बा– ०–३०५ नम्बरको एम्बुलेन्सले उनीहरू चारै जनालाई ठक्कर दिएको थियो।
ठक्कर दिने एम्बुलेन्स बाँके कोहलपुरको सिर्जनशील टोल विकास संस्थाले सञ्चालन गर्दै आएको थियो। ठक्कर दिँदा एम्बुलेन्समा चालक मात्रै सवार थिए। प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।