रोशी खोलाको डाइभर्सन मर्मतपछि विपी राजमार्गमा सवारी साधन एकतर्फी सञ्चालनमा आएको छ।
वर्षाका कारण बिपी राजमार्गअन्तर्ग काभ्रेको नमोबुद्धस्थित कटुञ्जेदेखि रोशीको मंगलटार सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको थियो।
कटुञ्जे–मंगलटार सडकखण्डको विभिन्न स्थानमा ‘डाइभर्सन’ बगाएका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
डाइभर्सन मर्मतपछि सवारी आवागमन एकतर्फ सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी रवीन विष्टले जानकारी दिए।
दुइतर्फी नै सञ्चालनमा आउन केही समय लाग्ने उनले बताए।
गत सालको बाढीपहिरोले रागमार्गको रोशी तथा सिन्धुलीको नेपालथोक क्षेत्रमा १८ किमी सडक बगाएपछि डाइभर्सन निर्माण गरी आवागमन भइरहेको थियो। यस्तै गत चैत तेस्रो साता पनि सोही क्षेत्रको विभिन्न स्थानको चार किमी बगाएपछि पुनः अस्थायी डाइभर्सन निर्माण गरिएको थियो ।
गतसाल असोजको बाढीपहिरोले चौकीडाँडा–नेपालथोक सडकखण्ड पूर्णरुपमा क्षतिग्रस्त बनाएपछि खोलाबाटै अस्थायी सडक एवं डाइभर्सन बनाएर यातायातका साधन सञ्चालन गर्दै आइएको थियो।
हाल उक्त क्षेत्रमा स्थायी सडक निर्माण भइरहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।