सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल दुई सातामा अवकाशमा जाने भएका छन्।
वैशाख १८ गते उनी अवकाशमा जान लागेका हुन्।
सशस्त्र प्रहरी नियमावली २०७२ अनुसार चार वर्षे सेवा हदका कारण उनी अवकाशमा जान लागेका हुन्।
उनी २०७९ वैशाख १८ गते सशस्त्र प्रहरी बलको आइजिपीमा नियुक्त भएका थिए।
अर्याल २०५४ साल चैत १८ गते नेपाल प्रहरीको प्रहरी निरीक्षक पदबाट सेवामा प्रवेश गरेका थिए।
पछि उनलाई नेपाल प्रहरीबाट सशस्त्र प्रहरी बलमा स्थानान्तरण गरिएको थियो। सशस्त्र प्रहरी बलमा आएपछि २०५८ असार १८ गते उनी डिएसपीमा बढुवा भएका थिए।
सशस्त्र प्रहरी बलमा आइजिपी अर्यालको अवकाश पछि तीन जना दाबेदार छन्
सशस्त्र नियमावली अनुसार आइजिपीको नियुक्ति गर्ने अधिकार सरकारको हुन्छ।
अर्यालको अवकाश अगावै सरकारले नयाँ आइजिपी नियुक्ति गर्नुपर्ने सशस्त्र प्रहरीका अधिकारीहरूको तर्क छ।
‘उहाँको अवकाश जानु अगाडि नै नयाँ आइजिपीको नियुक्ति गर्ने अभ्यास गरे राम्रो हुन्थ्यो,’ सशस्त्र प्रहरी बलका एक अधिकारीले भने।
नेपाली सेनामा पनि आइजिपीको नियुक्ति अवकाश अगाडि नै हुने गरेको छ। त्यसरी नै सशस्त्र प्रहरी बलमा पनि छिटो नियुक्ति गर्दा अनावश्यक दौडधुप बन्द हुने ती अधिकारीले बताए।
‘सेनामा एक महिना अगाडि देखि नै बिदा बस्ने प्रचलन छ। त्यसैगरी सरकारले पनि समयमै नियुक्ति प्रक्रिया अघि बढाए अनावश्यक दौडधुप बन्द हुन्थ्यो,’ ती अधिकारीले भने।
सशस्त्र प्रहरी बलमा अहिले तीन जना एआइजी छन्।
एआइजीहरूमध्येबाट जेष्ठता र कार्यकुशलताको आधारमा सरकारले उपयुक्त देखेको उम्मेदवारलाई आइजिपीमा बढुवा गर्न सक्ने नियमावलीमा उल्लेख छ।
मानव स्रोत विभागमा कार्यरत एआइजी नारायण दत्त पौडेल, सीमा सुरक्षा विभागमा रहेका वंशीराज दाहाल र कार्य विभागमा रहेका गणेश ठाडामगर आइजिपीका लागि दाबेदार छन्।
पौडेल जेष्ठताको आधारमा पहिलो नम्बरमा छन्। उनी २०७९ जेठ ६ गते बढुवा भएका थिए।
पौडेल बढुवा भएको करिब ६ महिना पछि दाहाल एआइजीमा बढुवा भएका थिए। उनी २०७९ असोज २८ गते बढुवा भएका थिए।
उनीहरू भन्दा मगर भने दुई वर्षपछि मात्रै बढुवा भएका हुन्। उनी २०८२ असार २ गते बढुवा भएका थिए।
यी तीन जना मध्ये एक जनालाई सरकारले आइजिपी बनाउने छ।