काठमाडौंमा वैशाख १ देखि सुरू गरिएको रात्रिकालीन बस सेवामा पहिलो दिनमै ४५० भन्दा बढी यात्रुले यात्रा गरेका छन्।
राति ८ देखि ११ बजेसम्म चल्ने यो सेवा सुरूआती चरणमै सन्तोषजनक देखिएको साझा यातायातका सहायक प्रबन्धक जनक रिसालले बताए।
साझा यातायातको सहकार्यमा काठमाडौं र ललितपुर महानगरपालिकाले बुढानीलकण्ठ–लगनखेल र एयरपोर्ट–थानकोट रूटमा यो सेवा सुरू गरेका हुन्।
'अहिलेसम्म धेरैलाई यसबारे थाहा छैन। जानकारी बढ्दै जाँदा यात्रु संख्या बढ्ने अपेक्षा छ,' उनले आइतबार सेतोपाटीसँग भने, 'एक साताको तथ्यांक संकलन गरेर सार्वजनिक गर्ने तयारीमा छौं।'
काठमाडौं महानगरपालिका प्रवक्ता नवीन मानन्धरका अनुसार झन्डै एक साता सेवा सञ्चालन गर्दा अहिलेसम्म कुनै समस्या आएको छैन।
'हामीलाई प्राप्त जानकारी अनुसार अहिलेसम्म यात्रु नपाएको रेकर्ड छैन,' उनले भने, 'ढिला भए पनि यात्रु पाइरहेका छन्। यात्रु नपाए पनि यसपटक साझा बसलाई घाटा हुँदैन।'
साझा यातायातका बसहरू विद्युतीय भएकाले सञ्चालन लागत तुलनात्मक रूपमा कम हुने बताइएको छ। बिहान ८ देखि साँझ ७ बजेसम्म नियमित सेवा दिएर आम्दानी गर्ने र त्यसपछि सर्वसाधारणका लागि रात्रि सेवा दिने उनले बताए।
यात्रु कम भए पनि सेवा नरोकिने काठमाडौं महानगरको भनाइ छ।
'तीन महिना हेर्छौं। यात्रु कम भएर घाटा भए पनि बजेट छुट्याएर सञ्चालन गर्छौं,' उनले भने, 'यात्रु संख्या बढ्दै गयो भने असारपछि अन्य रूटमा पनि विस्तार गर्न सकिन्छ।'
यात्रुको सुरक्षाका लागि प्रत्येक बसमा एक जना नगर प्रहरी राखिएको छ भने चारवटा सिसिटिभी क्यामरा जडान गरिएको छ। साझा यातायातको कार्यालयबाटै सिसिटिभीमार्फत निगरानी गरिन्छ।
'निगरानी कक्षबाट कसैको सामान छुटे पनि तुरून्त थाहा हुन्छ,' साझाका सहायक प्रबन्धक रिसालले भने, 'साझा बसको एपमार्फत बस कुन रूटमा छ, कहाँ आइपुगेको छ र कति समयमा आइपुग्छ भन्ने जानकारी लिन सकिन्छ।'
यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै सेवा सञ्चालन गरिएकाले आगामी दिनमा यात्रु संख्या अझै बढ्ने विश्वास गरिएको छ।