जाजरकोटबाट सात किलो बढी अफिमसहित दुई युवा पक्राउ परेका छन्।
बाँकेको राप्ती सोनारी गाउँपालिका– १ बैरिया बजारका ३८ वर्षीय दिपक कुमाल र जाजरकोटको कुशे गाउँपालिका–५ दम्दलाका २४ वर्षीय जयबहादुर वर पक्राउ परेका छन्।
जाजरकोटका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक एक्कबहादुर नेपालीका अनुसार शनिबार दिउँसो उनीहरू होटेलबाट पक्राउ परेका थिए।
जिल्लाको छेडागाड नगरपालिका – ५ थलबजारस्थित महेन्द्र साल्मी होटेलबाट उनीहरू पक्राउ परेका थिए।
होटेलको कोठा भाडामा लिएर बस्दै आएका दुई जना युवाले लागुऔषधको अबैध कारोबार गरि रहेको भन्ने गोप्य सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत, लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको थियो।
उनीहरू बसेको कोठा खान तलासी गर्दा ७ किलो ३० ग्राम लागुऔषध अफिम फेला परेको प्रहरी निरीक्षक नेपालीले जानकारी दिए।
पक्राउ परेकाहरू माथि लागु औषध सम्बन्धि मुद्दा चलाउने गरी थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।