ट्राफिक प्रहरीले यान्त्रिक अवस्था ठिक नभएका ४१ वटा र प्रदूषण चेकिङमा बढी धुँवा फाल्ने १४ वटा सवारीसाधनलाई कारबाही गरेको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले विशेष चेकिङमार्फत उक्त कारबाही गरेको हो।
६० वटा सवारीसाधन चेक गर्दा हेण्डब्रेक दुरूस्त नभएका, लाइटहरू दुरूस्त नभएका, टायर धेरै खिइएका तथा अन्य अवस्था ठिक नभएका ४१ वटा सवारी साधनका चालकलाई कारवाही गरिएको हो।
अवस्था ठिक नभएका सवारीसाधन चलाउँदा सवारी दुर्घटनाको सम्भावना रहने र त्यसबाट यात्रु तथा सडक प्रयोगकर्ताको जीवन जोखिममा पर्न सक्ने भएकाले सम्भावित जोखिम कम गर्नको लागि सवारीसाधनको अवस्था चेकजाँच गरिएको एसपी नरेशराज सुवेदीले जानकारी दिए।
ट्राफिक प्रहरीको टोली काठमाडौंको मुलपानी क्रिकेट ग्राउण्ड क्षेत्रमा चेकिङ गरेको हो।
साथै बबरमहल सडक खण्डमा आज दिउँसो गरिएको प्रदूषण चेकिङका क्रममा मापदण्डभन्दा बढी धुवाँ फाल्ने १४ वटा सवारी साधन कारवाही गरेको हो।
वातावरण विभाग बबरमहल र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रूपमा खटिएको टोलीले चेकिङ गरेको हो।