दसैंमा मासु तथा चिल्लो परिकारको अत्यधिक सेवन, शारीरिक सक्रियतामा कमी र नियमित औषधि सेवनमा लापरबाही गर्दा मुटुको स्वास्थ्यमा असर पर्न सक्ने भएकाले खानपिन र जीवनशैलीमा विशेष ध्यान दिन मुटुरोग विशेषज्ञ डा. सूर्य देवकोटाले सुझाव दिएका छन्।
डा. देवकोटाले दसैं लगायतका चाडपर्वमा रमाइलो गर्दा पनि स्वस्थ खानपिन, नियमित शारीरिक गतिविधि र औषधि सेवनलाई निरन्तरता दिनुपर्ने बताएका छन्।
त्रिवि मनमोहन कार्डियोभास्कुलर सेन्टरमा कार्यरत डा. देवकोटाका अनुसार दसैंमा मासु खानु अस्वाभाविक होइन। तर, कस्तो मासु खाने, कति खाने र कसरी पकाउने भन्ने कुराले मुटुको स्वास्थ्यमा महत्त्व राख्छ। विशेषगरी मुटुरोग, उच्च रक्तचाप, मधुमेह र कोलेस्ट्रोलको समस्या भएका व्यक्तिले खानपिनमा बढी अनुशासन अपनाउन आवश्यक छ।
'रातो मासुको तुलनामा सेतो मासु रोज्नु राम्रो हुने उल्लेख गर्दै खसीको मासु खाँदा देखिने बोसो हटाउन, छाला नभएको मासु खान र भित्री अङ्ग सकेसम्म खान हुँदैन। माछा तथा कुखुराको मासु खान सकिने भए पनि मात्रा र पकाउने तरिकामा ध्यान दिनुपर्छ,' उनले भने, 'मासुका परिकारसँगै फलफूल, सागसब्जी र हरियो तरकारी पनि खानुपर्छ। मासु खाने चाड भन्दैमा खानपिनमा नियन्त्रण गुमाउनु हुँदैन। स्वस्थ व्यक्तिले पनि सावधानी अपनाउनुपर्ने र पहिलेदेखि रोग भएका व्यक्तिले अझ बढी सतर्कता अपनाउनुपर्छ।'
मासु भण्डारण र नुनको प्रयोगमा ध्यान दिनुपर्ने
दसैंमा एकैपटक धेरै मासु किनेर वा काटेर केही दिनसम्म राखेर खाने चलन छ। यस्तो अवस्थामा मासु बिग्रन नदिन उचित भण्डारण गर्नुपर्ने डा. देवकोटाले बताए।
'सम्भव भए मासु फ्रिजमा राख्नुपर्ने र ताजा मासु खाने व्यवस्था मिलाउनुपर्छ। गाउँघरमा मासु तेल वा नुनमा भुटेर राख्ने चलन भए पनि मासु सुरक्षित राख्नु र बिग्रन नदिनु महत्त्वपूर्ण हुन्छ,' उनले भने, 'मुटुको स्वास्थ्यका लागि नुनको मात्रा नियन्त्रण गर्नु पनि उत्तिकै आवश्यक छ। धेरै नुन सेवन गर्दा रक्तचाप बढ्न र नियन्त्रणमा राख्न कठिन हुन सक्छ।'
दाल तथा तरकारीमा आवश्यक मात्रामा नुन प्रयोग गर्न सकिने भए पनि अचार र धेरै नुन भएका परिकार कम खानुपर्ने उनको सुझाव छ। तर, नुन पूर्ण रूपमा बन्द गर्नु पनि उचित नहुने उनले स्पष्ट पारे।
शरीरलाई आवश्यक पर्ने नुन उचित मात्रामा सेवन गर्नुपर्छ। धेरै कम नुन सेवन गर्दा पनि स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले खानपिनमा सन्तुलन कायम राख्नुपर्ने उनको भनाइ छ।
चाडपर्वमा औषधि र व्यायाम नछुटाउन सुझाव
दसैंमा परिवारसँग भेटघाट, खानपिन र आराममा बढी समय बित्ने हुँदा शारीरिक सक्रियता घट्न सक्छ। तर, मुटुको स्वास्थ्यका लागि नियमित हिँडडुल र व्यायामलाई निरन्तरता दिनुपर्ने डा. देवकोटाले बताए।
विशेषगरी मुटुरोग, उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल तथा मिर्गौला सम्बन्धी समस्या भएका व्यक्तिले आफ्नो स्वास्थ्य अवस्थाअनुसार सावधानी अपनाउनुपर्छ। चाडपर्वको व्यस्तताका कारण नियमित औषधि सेवन छुटाउनु वा रोगलाई केही समयका लागि बेवास्ता गर्नु जोखिमपूर्ण हुन सक्छ।
चाडपर्वपछि उच्च रक्तचाप र मधुमेह नियन्त्रणमा समस्या देखिन सक्ने भन्दै उनले भने, 'खानपिनमा संयम अपनाउन र चिकित्सकले दिएको औषधि नियमित सेवन गर्नुपर्छ। जीवनशैली परिवर्तन, स्वस्थ खानपिन र शारीरिक सक्रियता महत्त्वपूर्ण भए पनि त्यसकै भरमा औषधि बन्द गर्न हुँदैन।'
बदलिँदो खानपिन र धूमपानले बढाउँछ मुटुरोगको जोखिम
डा. देवकोटाका अनुसार पछिल्लो समय खानपिन र जीवनशैलीमा आएको परिवर्तनले मुटुरोगका जोखिम बढाउन भूमिका खेलेको छ।
घरमा पकाइएको परम्परागत खानाको तुलनामा बाहिरको खाना, प्रशोधित परिकार, फास्टफुड र चिसो पेय पदार्थको प्रयोग बढ्दै गएको छ। शारीरिक सक्रियतामा कमी, मोटोपन र अस्वस्थ खानपिनले पनि मुटुको रक्तनलीसम्बन्धी रोगको जोखिम बढाउन सक्छ।
उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल, धूमपान र मोटोपन हृदयघातका प्रमुख जोखिममध्ये पर्ने उनले बताए। तनाव र वायु प्रदूषण पनि जोखिमसँग सम्बन्धित रहेको उनको भनाइ छ।
चुरोटसँगै हुक्का तथा अन्य सुर्तीजन्य पदार्थको सेवनबाट टाढा रहन उनले आग्रह गरे।
विशेषगरी युवा पुस्तामा हुक्का सेवन गर्ने प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै उनले सुर्तीजन्य पदार्थले मुटु र रक्तनलीमा असर पार्न सक्छ। उनका अनुसार धूमपानले कम उमेरमै हृदयघात तथा पक्षघात हुने जोखिम समेत बढाउन सक्छ।
उनले भने, 'उच्च रक्तचाप, मधुमेह र कोलेस्ट्रोल नियन्त्रण गर्न जीवनशैली सुधार आवश्यक भए पनि त्यसबाट मात्र नियन्त्रण नभएमा औषधिको सहयोग लिनुपर्छ। करेला वा अन्य हरियो तरकारी खानु राम्रो भए पनि त्यसले चिकित्सकले दिएको औषधिको विकल्पको काम गर्दैन।'
नेपालमै उपलब्ध छन् धेरैजसो मुटुरोगका उपचार
डा. देवकोटाले त्रिवि मनमोहन कार्डियोभास्कुलर सेन्टरमा उपलब्ध मुटुरोग सम्बन्धी उपचारबारे पनि जानकारी दिए। सेन्टरमा बहिरङ्ग सेवा, आकस्मिक उपचार तथा भर्ना गरेर गरिने उपचार उपलब्ध छन्।
'मुटुको रक्तनली बन्द हुँदा खोल्ने एन्जियोप्लास्टी, स्टेन्ट राख्ने उपचार, बाइपास शल्यक्रिया, भल्भ सम्बन्धी उपचार, पेसमेकर राख्ने तथा धड्कन सम्बन्धी केही समस्याको उपचार गरिन्छ। मुटुका केही संरचनागत समस्या तार तथा उपकरणको माध्यमबाट उपचार गर्न सकिने सुविधा पनि रहन्छ,' उनले भने, 'मुटु प्रत्यारोपण तथा त्यससँग सम्बन्धित केही उन्नत उपचार भने अझै तयारी र विकासको चरणमा रहेको छ। मुटु स्वस्थ राख्न धूमपान त्याग्ने, मदिराको सेवन घटाउने वा बन्द गर्ने, रक्तचाप, मधुमेह र कोलेस्ट्रोल नियन्त्रण गर्ने, नियमित व्यायाम गर्ने, तौल व्यवस्थापन गर्ने र स्वस्थ खाना खाने कुराका साथै पर्याप्त निद्रा र तनाव व्यवस्थापनलाई पनि महत्त्वपूर्ण हुन्छ।'
उनका अनुसार दसैंमा खानपिन र रमाइलो गर्नुका साथै स्वास्थ्यप्रतिको जिम्मेवारीलाई निरन्तरता दिन सके मुटुरोगको जोखिम घटाउन सहयोग पुग्छ। चाडपर्वमा पनि स्वस्थ जीवनशैली र नियमित उपचारलाई प्राथमिकता दिनु नै मुटु जोगाउने महत्त्वपूर्ण उपाय हो।