सल्यानमा आगलागीमा परेर चार परिवारका घर गोठ जलेर नष्ट भएका छन्।
वनगाड कुपिण्डे नगरपालिका–१० खानीगाउँका स्थानीय ६५ वर्षीय तेजबहादुर पुनको गोठमा दिउँसो साढे ३ बजेतिर सल्किएको आगो अन्य स्थानीयको घर तथा गोठमा फैलिएको थियो।
तीव्र हावा हुरीका कारण गोठबाट सल्केको आगो छिमेकी ४६ वर्षीय थमन घर्तीको २ तले ३ कोठे खरले छाएको कच्ची घर, ३३ वर्षीय जीवन पुनको २ तले ४ कोठे खरले छाएको कच्ची घर र ३० वर्षीय खुमबहादुर पुनको ३ तले ४ कोठे खरले छाएको कच्ची घरमा सल्किएको थियो।
उनीहरू चारै जनाका गोठ तथा घरहरू जलेर पूर्ण रूपमा नष्ट भएको सल्यानका प्रवक्ता प्रहरी निरीक्षक देवराज भट्टराईले बताए।
अस्थायी प्रहरी पोष्ट बाबियाचौरबाट खटिएको प्रहरी टोलीका साथै स्थानीयले मिलेर आगो नियन्त्रणमा लिएका थिए।
प्रहरी र स्थानीयको सहयोगमा बेलुकीपख आगो नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।
त्यस्तै, रोल्पाको त्रिवेणी गाउँपालिका–६ सानोभुर्तीको शुभकामना सामुदायिक वनमा लागेको आगो प्रहरीले नियन्त्रणमा लिएको छ।
बिहान ६ बजेतिर सल्किएको आगो प्रहरी चौकी जुगाँरबाट खटिएको प्रहरी टोलीले स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो।