उदयपुरको चौदण्डीगढी नगरपालिका–७ बेल्टार बजारस्थित शान्ति चोकमा सोमबार राति भएको आगलागीमा दुई जनाको जलेर मृत्यु भएको छ।
मध्यराततिर दुईवटा घरमा फैलिएको आगो निभाएपछि घटनास्थलमा दुई जनाको शव जलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
स्थानीयका अनुसार मृतक पवन खड्का र लक्ष्मी खड्का हुन्।
इलाका प्रहरी कार्यालय बेल्टार ले पनि घटनास्थलमा दुई जनाको शव फेला परेको पुष्टि गर्दै थप अनुसन्धान भइरहेको जनाएको छ।
प्रारम्भिक विवरणअनुसार विद्युत् सर्ट भएर आगलागी भएको आशंका गरिएको छ। आगलागीबाट लक्ष्मी खड्का र रविनकुमार दासको घर पूर्ण रूपमा नष्ट भएको बताइएको छ। लक्ष्मी खड्काको घरमा पुस्तक पसलको गोदाम समेत रहेकाले क्षति ठूलो भएको अनुमान गरिएको छ।
आगो नियन्त्रणका लागि चौदण्डीगढी नगरपालिका, त्रियुगा नगरपालिका, रौतामाई गाउँपालिका तथा कञ्चनरूप नगरपालिका बाट दमकल बोलाइएको थियो। करिब तीन घण्टापछि मात्रै आगो नियन्त्रणमा आएको जनाइएको छ।