पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ३ भुवनपोखरी झिरबासमा लु ५ त १०३५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सोही ट्याक्टरका सहचालक २३ वर्षीय विशाल रानाको मृत्यु भएको हो।
रैनादेवी गाउँपालिका वडा नं. ४ छहराका बासिन्दा राना ट्याक्टर दुर्घटनामा परी गम्भीर घाइते भएका थिए। गम्भीर घाइते अवस्थामा रहेका रानालाई स्थानीयवासीले उद्धार गरी उपचारको लागी मिसन अस्पताल तानसेन पठाएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
उक्त ट्याक्टर चालकले चलाएका थिए वा सहचालक रानाले नै चलाएका थिए भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साथै दुर्घटना हुँदा चालक ट्याक्टरमा रहे नरहेकोबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। दुर्घटनापछि ट्याक्टर सडकबाट ५ सय मिटर तल खसेको छ।