स्थानीय सर्वसाधारणलाई झुक्क्याएर सुनका गरगहना चोरी गरेको आरोपमा चार जना पाकिस्तानी नागरिक पक्राउ परेका छन्।
व्यवसायी र सर्वसाधारणलाई अलमल्याउँदै ठगी गरेको आरोपमा चैत ३० गते २० वर्षीया वेबी कलसुम र ४१ वर्षीया सर्वना रहमानलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको हो। उनीहरू दुबैका श्रीमान पनि पक्राउ परेका छन्।
अपरिचित ती दुई महिलाले तौलिहवा र चन्द्रौटा बजारमा व्यवसायी र सर्वसाधारणलाई झुक्याएर ठगेको आरोप छ।
कपिलवस्तुका प्रहरी प्रवक्ता डिएसपी रिपेन्द्रकुमार सिंहका अनुसार पक्राउ परेका ती दुई जना पाकिस्तानी महिलामाथि अनुसन्धान गर्दा उनीहरूका श्रीमानहरू पनि पक्राउ परेका हुन्।
प्रहरीले वैशाख ५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाकिस्तानी नागरिकहरू २३ वर्षीय इफान अली र ४४ वर्षीय सफिउर रहमानलाई विमानस्थलबाट नियन्त्रणमा लिएको थियो। प्रहरी अनुसन्धानबाट अली कलसुमका र सफिउर सर्वनाका श्रीमान हुन्।
जसका विरूद्ध इलाका प्रहरी कार्यालय इटहरी सुनसरीमा स्थानीय व्यवसायी तथा सर्वसाधारणलाई झुक्क्याएर २ तोला बढी सुनका गरगहना चोरी तथा ठगी गरेको भन्ने जाहेरी, जिल्ला प्रहरी कार्यालय मोरङमा १ तोला बढी सुनका गरगहना चोरी तथा ठगी गरेको, इलाका प्रहरी कार्यालय बुटवलमा पनि उनीहरूमाथि सुनका गरगहना ठगी गरेकोबारे उजुरी परेको छ।
कपिलवस्तुका प्रहरी प्रवक्ता सिंहका अनुसार पछिल्लो समय पक्राउ परेका दुई जनामाथि जिल्ला प्रहरी कार्यालय चितवनमा पनि ३ तोला बढी सुनका गरगहना चोरी तथा ठगी गरेको अभियोगसहित मंगलबार जाहेरी दरखास्त दिने पीडितले तयारी गरेका छन्।
वैशाख ५ गते नेपाल छोडेर जाने अन्तिम तयारी गरिरहेको समयमा दुई पुरूष पक्राउ परेका थिए। सुरक्षा जाँच पास र बोर्डिङ पास समेत प्राप्त गरी विमान चढ्ने अन्तिम तयारी गरिरहेको समयमा उनीहरू पक्राउ परेको डिएसपी सिंहले बताए।
प्रहरी अनुसन्धानबाट सफिउर तेस्रो पटक नेपाल आएको खुलेको छ भने अन्य तीन जना पहिलो पटक आएका थिए।
‘जहाँ भिडभाड बढी छ दुई महिलाहरू सोही पसलमा जाने गर्दा रहेछन् र उनका श्रीमानहरू केही टाढा गाडी लिएर बस्दा रहेछन्,’ डिएसपी सिंहले भने, ‘उनीहरूले हिन्दी भाषामा कुरा गर्दै केही किन्ने बहानामा पैसा देखाउँदै साट्ने बहानामा सुन देखाउँदै चोरी र ठगी गर्ने गरेको खुलेको छ।’
योजनाबद्धरूपमा पसल साहुलाई अलमल्याउने, साहु ब्यस्त भएको मौका छोपी गरगहना छोप्ने, लुकाउने र चोरी गर्ने कार्य दुई महिलाले गर्ने गरेको डिएसपी सिंहले जानकारी दिए।
झुक्याएर गरगहना चोरी गर्ने क्रममा यी दुई महिलासंग तौलीहवाको एक पसलमा विवादसमेत भएको थियो। विवाद पछि प्रहरीले उनीहरूलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो।
‘कपिलवस्तुमा दुई महिला पक्राउ परेपछि उनीहरूका श्रीमान भागेर गएका थिए,’ डिएसपी सिंहले भने, ‘हामीले विभिन्न प्रहरी युनिटसँग सहकार्य र सहयोगमा नेपाल छोडेर जाने अन्तिम तयारी गरिरहेका उनीहरूलाई नियन्त्रणमा लिन सफल भएका हौं।’
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका दुई जना पुरुषलाई आइतबार कपिलबस्तु ल्याइ ठगी तथा चोरीको यो घटना अनुसन्धानका लागि जिल्ला अदालतले आठ दिनको म्याद प्रदान गरेको डिएसपी सिंहले बताए।
चोरीका गरगहना भने फेला नपरेको र उनीहरूले ती गरगहनाहरु पैसामा रूपान्तरण गरेको हुँदा थप अनुसन्धान भइरहेको उनले बताए।
वैशाख ५ गते बेलुका विमानस्थलबाट पक्राउ परेका दुई जनाबाट १७ हजार १३६ अमेरिकी डलर, साउदी रियाल ३२५, बंगलादेशको टाका १ हजार ६१५, यूएईको दिराम ५, मलेसियाको रिंगेट १८५ फेला परेको प्रहरीले जानकारी दिएको छ।