एप्पलका प्रमुख कार्यकारी टिम कुकले झण्डै १५ वर्षपछि पद त्याग्ने घोषणा गरेका छन्।
६५ वर्षीय कुक आगामी सेप्टेम्बरदेखि एप्पलको कार्यकारी अध्यक्षको नयाँ भूमिकामा जाने भएका छन्। उनको स्थानमा ५० वर्षीय एप्पलको हार्डवेयर इन्जिनियरिङ प्रमुख जोन टर्नसले प्रमुख कार्यकारीको जिम्मेवारी सम्हाल्नेछन्।
सन् २०११ मा एप्पलका सह-संस्थापक स्टिभ जब्सको मृत्यु हुनुभन्दा केही समयअघि कुक जब्सको स्थानमा प्रमुख कार्यकारी भएका थिए। उनको नेतृत्वमा आइफोनको अत्याधिक लोकप्रियतासँगै एप्पल विश्वकै सबैभन्दा प्रभावशाली र मूल्यवान कम्पनीमध्ये एक बन्न सफल भएको छ।
कुकको राजीनामासँगै अमेरिकी व्यावसायिक इतिहासकै एक सफल व्यवस्थापकीय कार्यकालको अन्त्य हुनेछ भनेर द न्यू योर्क टाइम्सले लेखेको छ। उनको कार्यकालमा एप्पलको वार्षिक नाफा चार गुणाले बढेर एक खर्ब १० अर्ब डलरभन्दा बढी पुग्यो भने कम्पनीको बजार मूल्य १० गुणाभन्दा बढीले वृद्धि भई ४० खर्ब डलर पुगेको छ।
टर्नस सन् २००१ मा एप्पलमा प्रवेश गरेका थिए। म्याक तथा आइप्याडको विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै उनी यो उचाइमा पुगेका हुन्। एप्पल स्थापना भएको ५० वर्षमा उनी आठौँ प्रमुख कार्यकारी हुनेछन्। साथै, सन् १९९७ मा टाट पल्टिने अवस्थाबाट कम्पनीलाई बचाउन स्टिभ जब्स फर्किएयता टर्नस तेस्रो प्रमुख कार्यकारी बन्नेछन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)