सल्यानमा गोठ भित्र जलेको अवस्थामा एक वृद्धको शव फेला परेको छ।
जिल्लाको बागचौर नगरपालिका– ४ मोहरका ७० वर्षीय मोतिराम वलीको शव आगलागी भएको गोठभित्र जलेको अवस्थामा फेला परेको हो।
मंगलबार दिउँसो स्थानीय भन्द्रबहादुर घर्तीको बाख्राको खोरमा जलेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवराज भट्टराइले जानकारी दिए।
गोठमा राखेका ४ दर्जन जति कुखुरा पनि जलेर मरेका छन्।
परिवारका अनुसार वली गाउँमा बिहे भोजमा गएका थिए। उनले त्यहाँ मदिरा सेवन गरेका थिए। घर जान्छु भनेर हिडेका उनी अर्कैको गोठमा गएर सुतेका थिए। त्यही क्रममा विद्युत सर्ट भएर आगलागी भएको र वलीको भित्रै जलेर मृत्यु भएको प्रहरी निरीक्षक भट्टराईले बताए।
त्यस्तै जिल्लाकै शारदा नगरपालिका– ४ को सालटाकुरी सामुदायिक वनको आगो बस्तीमा फैलिँदा दुई घरमा क्षति पुगेको छ।
स्थानीय गायात्रा विष्टको भान्सा कोठा र खिमबहादुर डाँगीको घरमा आलगाली बाट क्षति पुगेको छ। प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएको हुँदा थप क्षति हुन पाएको थिएन।
त्यस्तै प्यूठान प्रहरीले स्थानीय सामुदायिक वनमा आगो लगाएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। ऐरावति गाउँपालिका – ५ साधन चौरका २३ बर्षीय विनोद केसी र २९ वर्षीय रमेश केएम पक्राउ परेका छन्।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक हरि भट्टराइले उनीहरुलाई मंगलबार पक्राउ गरिएको बताए। वैशाख ६ गते राति ९ बजेतिर जिल्लाको ऐरावति – ५ स्थित बदर खोला सामुदायिक वनमा आगो लागेको थियो।