अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले इरानलाई हतियार सहयोग गरेको हुन सक्ने संकेत गरेका छन्।
मंगलबार सिएनबिसीसँगको एक अन्तर्वार्तामा उनले अमेरिकाले चीनबाट आएको एउटा 'उपहार' सहितको जहाज नियन्त्रणमा लिएको दाबी गरे।
'हामीले हिजो एउटा जहाज समात्यौं। जसमा केही वस्तुहरू थिए, जुन त्यति राम्रो थिएन। सायद चीनबाट आएको उपहार होला, मलाई थाहा छैन। मलाई लागेको थियो कि राष्ट्रपति सीसँग मेरो एउटा समझदारी छ, तर ठिकै छ। युद्ध यसरी नै चल्छ, होइन त?,' ट्रम्पले भने।
उनले स्पष्ट शब्दमा नभने पनि उक्त उपहार इरानका लागि कुनै प्रकारको सैन्य सहायता भएको संकेत गरेको छ।
यस विषयमा आफूले सोधेको थप प्रश्नहरूको ह्वाइट हाउसले कुनै जबाफ दिएन भनेर ब्लुमबर्गले लेखेको छ।
केही पश्चिमा मिडियाले अमेरिकाले कब्जा गरेको जहाजमा सैन्य प्रयोजनमा समेत प्रयोग हुन सक्ने रसायनहरू रहेको समाचार लेखेका छन्।
चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले मिसाइलका लागि आवश्यक रसायन ढुवानीमा गरिएको हो भन्ने प्रश्नको जबाफमा भने, 'मलाई थाहा भएसम्म, अमेरिकाले कब्जा गरेको जहाज एक विदेशी कन्टेनर जहाज हो। चीन कुनै पनि गलत सम्बन्ध र अड्कलबाजीलाई अस्वीकार गर्दछ।'
ट्रम्पले इरानलाई हतियार नदिन चिनियाँ समकक्षी सी चिनफिङलाई पत्र नै लेखेका छन्।
फक्स टेलिभिजनलाई गत हप्ता दिएको एक अन्तर्वार्तामा ट्रम्पले सीलाई त्यस्तो आग्रह गरेको खुलाएका थिए। जबाफमा इरानलाई हतियार नदिएको सीले बताएका उनले जानकारी दिएका थिए।
'मैले उन (सी) लाई त्यसो नगर्न आग्रह गर्दै एउटा पत्र लेखेँ, र उनले जबाफमा एउटा पत्र पठाए जसमा उनले आफूले त्यसो नगरेको बताएका छन्,' ट्रम्पले भने।
उनले कहिले पत्र लेखेको भनेर नखुलाए पनि केही समयदेखि चीनले इरानलाई हतियार पठाउन लागेको भनेर अमेरिकी खुफिया संस्थाको हवाला दिँदै समाचार आएका थिए। ट्रम्पले इरानलाई हतियार नदिन चीनलाई चेतावनी समेत दिएका थिए।
चीनले केही काँधबाट विमान खसाल्न मिल्ने रकेट सहित ‘एयर डिफेन्स’ मा प्रयोग हुने हतियार केही हप्तामै इरान पुग्ने गरी पठाएको समाचार आएका थिए।
यसबारे अमेरिकी समाचार संस्था सिएनएनले ट्रम्पलाई सोधेको थियो।
'यदि चीनले त्यसो गर्न लागेको हो भने चीनका लागि ठूलो समस्या हुनेछ,' ट्रम्पले जबाफमा भनेका थिए।
गत हप्ता नै इरानले चिनियाँ जासुसी उपग्रह प्रयोग गरेर मध्यपूर्वका अमेरिकी सैन्य संरचनामा प्रहार गरेको फाइनान्सियल टाइम्सले लेखेको थियो।
फाइनान्सियल टाइम्सका अनुसार इरानले गोप्य रूपमा एउटा चिनियाँ जासुसी उपग्रह प्राप्त गरेको र हालैको युद्धका क्रममा अमेरिकी सैन्य संरचनामा निशाना लगाउन सहयोग गरेको छ।
चुहिएका इरानी सैन्य कागजातको हवाला दिँदै अनुसार चीनले सन् २०२४ को अन्त्यतिर चीनबाट अन्तरिक्षमा प्रक्षेपण गरेको उपग्रह इरानी सेनाले प्राप्त गरेको फाइनान्सियल टाइम्सले खुलासा गरेको थियो।
समय-अंकित कोअर्डिनेट सूची, उपग्रहका तस्बिरहरू र कक्षीय विश्लेषणले इरानी सेनाले पछि उक्त उपग्रहलाई प्रमुख अमेरिकी सैन्य स्थलहरूको निगरानी गर्ने जिम्मेवारी दिएको थियो। ती स्थानहरूमा ड्रोन र मिसाइल आक्रमण हुनुअघि र पछि मार्च महिनामा यी तस्बिरहरू खिचिएको फाइनान्सियल टाइम्सले जनाएको थियो।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)