१४ केजी बढी लागुपदार्थ चरेश सहित चार जना पक्राउ परेका छन्।
कपिलवस्तुको इलाका प्रहरी कार्यालय कृष्णनगरबाट प्रहरी निरीक्षक कृष्णबहादुर कुँवरको कमाण्डमा खटिएको साधा पोशाकको प्रहरी टोलीले मंगलबार बेलुकी चार जनालाई पक्राउ गरेको हो।
विशेष सूचनाको आधारमा कृष्णनगर नगरपालिका–२ बसपार्कबाट शरीरको विभिन्न भागमा लुकाइछिपाइ राखेको १४ केजी ४२७ ग्राम चरेश बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी रिपेन्द्रकुमार सिंहले बताए।
प्रहरीले चरेश सहित बाग्लुङको निसीखोला गाउँपालिका–६ का ३४ वर्षीय नकुल घर्ती मगर, निसीखोला–९ की ३७ वर्षीया दिलकुमारी घर्ती मगर, निसीखोला–६ की ३७ वर्षीया मनिषा घर्ती मगर र रूकुम पूर्वको भूमे गाउँपालिका–१ की ४० वर्षीया दिलकुमारी घर्तीलाई पक्राउ गरिएको डिएसपी सिंहले बताए।
नेपालबाट सीमा नाका हुँदै भारततर्फ लागुऔषध लैजान खोजेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो।
त्यस्तै प्रहरीले मंगलबार राति नै कपिलवस्तुको वाणगंगा नगरपालिका–३ चम्कीपुरबाट ब्राउन सुगरसहित एक जना पक्राउ गरेको छ।
वाणगंगा नगरपालिका–४ डुंगाका ३४ वर्षीय किशोर भनिने जंगबहादुर दर्जी पक्राउ परेका हुन्।
डिएसपी सिंहका अनुसार उनको साथबाट ७५० ग्राम ब्राउन सुगर बरामद भएको हो।