बाँके प्रहरीले एकैदिनमा एक सय २७ जनालाई पक्राउ गरेको छ।
‘लागुऔषध विरूद्धको विशेष अभियान’ सञ्चालन गर्दै प्रहरीले एक सय ११ जना लागुऔषध प्रयोगकर्ता र १६ जना अनैतिक कार्यमा संलग्न व्यक्ति पक्राउ गरेको हो।
बाँकेका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रमेश विष्टका अनुसार बुधबार बेलुकी ८ बजेदेखि बिहीबार बिहान ६ बजेसम्म गरिएको विशेष अपरेसनका क्रममा एक सय ११ जना लागुऔषधका प्रयोगकर्ता पक्राउ परेका हुन्।
तीमध्ये एक जनासँग २७५ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरी निरीक्षक विष्टले बताए।
पक्राउ परेका व्यक्तिहरूलाई म्याद थप्नका लागि जिल्ला अदालत लैजाने तयारी गरिएको हुँदा म्याद थप भएपछि नाम सार्वजनिक गर्ने विष्टले जानकारी दिए।
त्यस्तै होटलहरूबाट गैरकानुनी कार्य गरेको अभियोगमा १६ जनालाई पक्राउ गरिएको विष्टले बताए।
१२ जना महिला र चार जना पुरूष गरी १६ जना पक्राउ गरिएको उनले जानकारी दिए।
पक्राउ परेका पुरूषमध्ये दुई जना होटल सञ्चालक रहेको उनले बताए।