बर्दियाको बढैयाताल गाउँपालिका–२ की ५७ वर्षीया रती वलीलाई पित्तथैलीको पत्थरीले साह्रै दु:ख दिएको थियो।
बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा पत्थरीको अपरेसनका लागि वली वैशाख ५ गते भर्ना भइन्।
शनिबार भर्ना भएकी वलीको आइतबार अपरेसन सफल भयो। अस्पताल प्रशासनका अनुसार उनको पित्तथैलीबाट ३२ एमएम जतिको पत्थरी अपरेसन गरी निकालिएको थियो।
अपरेसन गर्नुपूर्व बिरामीका शरीरका धातुजन्य वस्तुहरू निकाल्ने गरिन्छ।
अस्पताल प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीका अनुसार वलीका कानमा दुई वटा सुनका मुन्द्रा थिए। ती निकै टाइट गरी बसेको हुँदा निकाल्ने प्रयास संभव भएन। त्यही भएर कालो टेपले ती सुनका गहनालाई राम्रोसँग कानमै बेरी रतीलाई अपरेसन थिएटरमा लगिएको थियो।
अपरेसन सफल भएकोमा सबै खुसी थिए।
बिरामीको कुरूवाको रूपमा रतीकी १४ वर्षीया छोरी (कल्पना वली) थिइन्। रतीको अपरेसन सफल भएपछि बाहिर निकालियो। छुट्टै वार्डमा राखियो। त्यो बेला कल्पनाले आमा रतीको कानका रिङहरू देखिनन्। उनको कानमा ४/४ आनाका सुनका दुई वटा मुन्द्रा थिए।
कल्पनाले आमाको कानमा सुन नदेखेपछि सोधीखोजी थालिन्। सुन पत्ता लागेन। त्यसपछि कल्पनाले अभिभावक तथा आफन्तलाई घटनाबारे सुनाइन्।
अस्पतालका प्रमुख सुवेदी समक्ष पुगेर उनीहरूले बिरामीले कानमा लगाएका सुनका रिङहरू चोरी भएको घटना सुनाए। अस्पतालबाटै बिरामीका गहना चोरी भएको घटनाको अनुसन्धान गर्न प्रहरीलाई बोलाइयो।
अस्पतालका सिसी टिभी फुटेजहरू संकलन गरी अध्ययन थालियो। त्यो अध्ययनबाट अस्पतालका अस्थायी ट्रली सार्ने कार्यालय सहयोगी कर्मचारी २२ वर्षीय विकास बालमिकीले अप्रेशन सफल भएपछि रतीलाई अप्रेसन रूमबाट बाहिर निकालेको तथ्य फेला पर्छ।
बाँकेका निमित्त प्रहरी प्रबक्ता प्रहरी निरीक्षक रमेश विष्टका अनुसार उनै बाल्मिकीले अप्रेशन थ्रेटरबाट रतीलाई अर्कौ कोठामा लैजाने क्रममा बीचमै कानका रिङहरू निकालेर कानमा टेपमात्रै टालेर राखेको तथ्य अनुसन्धानबाट खुल्छ।
बालमिकीले कानबाट रिङहरू निकालेर घर लगेको प्रहरी सोधपुछका क्रममा स्वीकार गरेका छन्।
चोरिएका ती गहनालाई बाल्मिकीले वैशाख ७ गते अस्पताल ल्याएका थिए। उनलाई प्रहरीले त्यही दिन नियन्त्रणमा लिएको छ।
अस्पताल प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीले अस्थायी कर्मचारी बाल्मिकीले चोरी गरेको पुष्टि भइसकेको हुँदा उनलाई जागिरबाट निस्कासित गरिएको बताए।
‘यो घटनाबारे थप प्रहरीले नै अनुसन्धान गरी कानुनी कारबाही अघि बढाउला,’ उनले भने, ‘तर बिरामीका गहना चोरी गरेको पुष्टि भइसकेको हुँदा अस्पतालले उनलाई निस्कासित गरिसकेको छ।’
प्रमुख सुबेदीले बाल्मिकीले अन्य कर्मचारीहरूसँग पनि त्यसपूर्व पैसा सापटी माग्ने गरेको खुलेको बताए।
उनीमाथि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।