चितवनको चौकीडाँडाबाट प्रहरीले करिब ९६ किलो गाँजा नियन्त्रणमा लिएको छ।
भरतपुर महानगरपालिका-२९ मा पर्ने उक्त स्थानबाट लागुऔषध गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रविन्द्र खनालले जानकारी दिए।
उनका अनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा गाँजा भेटिएको थियो।
प्रहरीले शंकास्पद अवस्थामा रहेको बिआर ०१ पिई ६९४३ नम्बरको भारतीय पिकअप गाडीलाई रोकेर खानतलासी गर्दा गाडीको सिटमुनि 'फल्स बटम' बनाई लुकाई-छिपाई राखिएको अवस्थामा ३० वटा प्याकेट फेला पारेको खनालले बताए।
ती प्याकेटहरू जोख्दा कुल ९५ किलो ९६५ ग्राम लागुऔषध गाँजा पुष्टि भएको जानकारी उनले दिए।
प्रहरीले उक्त घटनामा संलग्न रहेको आरोपमा चितवनको कालिका नगरपालिका-३ पदमपुर बस्ने २७ वर्षीय देवचन्द्र स्याङ्तानलाई नियन्त्रणमा लिएको छ।
पक्राउ परेका स्याङ्तानसँग गरिएको प्रारम्भिक सोधपुछका क्रममा उक्त गाँजाको बजार मूल्य प्रति किलो ६ हजार रुपैयाँका दरले कुल ५ लाख ७५ हजार ७ सय ९० रुपैयाँ बराबरको रहेको खुलेको डिएसपी खनालले बताए।
प्रहरीले यस घटनामा संलग्न हुनसक्ने अन्य व्यक्तिहरूको समेत खोजी भइरहेको र घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ।
पछिल्ला वर्षहरुमा चितवनको पहाडी क्षेत्रमा गाँजा र अफिमको खेती फस्टाउँदै गएको छ।