प्यूठानमा तीर्थ यात्रु चढेको एउटा जिप दुर्घटना हुँदा एक जना बालिकाको मृत्यु भएको छ। थप दुई जनाको अवस्था गम्भीर छ।
दुर्घटनामा परी १५ जना घाइते भएका छन्।
दुर्घटनामा परी छिमेकी देश भारतको महाराजगञ्ज थाना मेटौलीका करण नाथ मौरियाका ३ वर्षीया छोरी काव्या मौरियाको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा मृत्यु भएको हो।
जिल्ला प्रवक्ता प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार दुर्घटनाका घाइतेमध्ये एक जना पुरूष, एक जना महिलाको अवस्था गम्भीर छ। मध्यम घाइते अन्य १५ जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ।
बिहीबार दिउँसो भारतीय तीर्थ यात्री सवार भिङ्ग्रीबाट स्वर्गद्धारी मन्दिर तर्फ जाँदै गरेको लु १ ज ३१७५ नम्बर जिप स्वर्गद्वारी नगरपालिका–४ टाकुरामा दुर्घटनामा परेको थियो।
जिप सडकदेखि झन्डै ६० मिटर तल खसेको थियो ।
जिपमा कुल १८ जना जिपमा सवार रहेका थिए। तीमध्ये चार जना बालबालिका र अन्य १४ जना महिला पुरूष सवार थिए।