राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रिमा विश्वकर्माले सिन्धुलीमा हिरासतभित्र मृत्यु भएका दलित युवकका लागि न्यायको माग गरेकी छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमा स्टास्टस लेख्दै हिरासतभित्र मृत्यु भएका २२ वर्षीय श्रीकृष्ण विकको लागि न्याय माग गरेकी हुन्।
'एकातिर दलित समुदायसँग क्षमायाचना, अर्कोतिर अन्तरजातीय विवाहसम्बन्धी उजुरीकै आडमा हिरासतभित्रै दलित नागरिकको शंकास्पद मृत्यु! न्याय देऊ सरकार!' उनले लेखेकी छन्।
साथसाथै उनी बिहीबार अपरान्ह्रदेखि जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा धर्ना बसिरहेकी छन्। उनीसँगै रास्वपाका अन्य सासदपनि छन्।
सिन्धुलीको सुनकोशी गाउँपालिका-३ जुम्लेडाँडाका २२ वर्षीय श्रीकृष्ण विकको वैशाख ७ गते साँझ इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमै मृत्यु भएको थियो।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डिएसपी सूर्यप्रकाश सुवेदीका अनुसार श्रीकृष्ण हिरासतमै सर्टको पासो लगाएको अवस्थामा अचेत फेला परेका थिए।
उनलाई अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरिदिएको डिएसपी सुवेदीले बताए।
आफन्तहरूले भने हिरासतमा प्रहरीको कुटपिटबाट श्रीकृष्णको मृत्यु भएको आरोप लगाएका छन्। उनीहरू चार दिनदेखि जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालत अगाडि प्रदर्शन गर्दै आएका छन्।
छानबिनको माग गर्दै शव बुझ्न नमानेपछि वैशाख ८ गते नै छानबिन समिति गठन भइसकेको छ। आफूहरू घटनाबारे छानबिन गरिरहेको र प्रक्रियामा रहेको सिन्धुलीका सहायक प्रमुख जिल्ला अधिकारी दीपेन्द्र पौडेलले जानकारी दिए।
'यस घटनामा हामीले गम्भीरतापूर्वक अनुसन्धान गरिरहेका छौं। छानबिनपछि तथ्य बाहिर आउँछ,' उनले भने।