रूपन्देही प्रहरीले लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने ८ जना चालकलाई नियन्त्रणमा लिएको छ।
बिहीबार दिउँसो बुटवल भैरहवा सडक खण्डमा गरेको चेकजाँचको क्रममा आठ वटा सवारी साधनका चालकले लागुपदार्थ सेवन गरी सवारी साधन सञ्चालन गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक गणेश सापकोटाका अनुसार ओमसतिया गाउँपालिका वडा नं. १ ठुटिपिपलस्थित बुटवल भैरहवा सडक खण्डमा सोमबार दिउँसो साढे २ बजेदेखि साढे ६ बजेसम्म चार घण्टा सवारी चालकहरूको मापसे र लापसे चेकजाँच गरिएको थियो।
सो क्रममा आठ जना चालकले लापसे गरी सवारी साधन सञ्चालन गरेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक सापकोटाले बताए।
प्रहरी नायब उपरीक्षक सापकोटाका अनुसार पक्राउ परेका आठै जना चालकहरू सार्वजनिक सवारी साधनका रहेका छन्। जसअनुसार दुई जना बुटवल भैरहवा चल्ने माइक्रो बसका चालक, ५ जना टिपरका र एक जना हाइसका चालक रहेका छन्।
पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक सापकोटाले बताए।
‘पक्राउ परेका आठै जनाले लागुपदार्थ सेवन गरेको पाइएकोले सोही अनुसारको कारबाही प्रक्रिया अगाडि बढाइने छ,’ उनले भने।
मादक पदार्थ सेवन गर्दा यात्रुहरूले समेत सहजै थाहा पाउने भएकोले पछिल्लो समय चालकहरूले लागुपदार्थ सेवन गर्ने क्रम बढेको छ।
मादक पदार्थ र लागुपदार्थ सेवन गरी सवारी साधन सञ्चालन गर्दा यात्रुहरूको ज्यान नै जोखिममा पर्न थालेको भन्दै प्रहरीले चेकजाँचलाई बढाएको जनाएको छ।