परराष्ट्र मन्त्रालयले दक्षिण पूर्वी एसियाली क्षेत्रमा सञ्चालित अनलाइन डिजिटल स्क्यामिङ सेन्टरहरूमा ठगीमा परेका नेपालीहरूको उद्धार कार्यलाई तीब्रता दिएको छ।
मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीकाअनुसार हालसम्म थाइल्याण्ड, म्यानमार, कम्बोडिया र लाओसबाट कुल ६१२ जना नेपालीको उद्धार गरी स्वदेश फर्काइएको छ।
मन्त्रालयकाअनुसार उद्धार गरिएकामध्ये कम्बोडियाबाट ४८७ जना, म्यानमारबाट १११ जना, लाओसबाट ८ जना र थाइल्याण्डबाट ६ जना रहेका छन्। उद्धार कार्यका लागि थाइल्याण्ड र म्यानमारस्थित नेपाली राजदूतावासहरूले स्थानीय निकायहरूसँग सक्रिय समन्वय र सहयोग गरिरहेका छन्।
हाल थप ५३ जनाको ट्राभल डकुमेन्ट तयार भइसकेको र उनीहरूलाई छिट्टै स्वदेश फर्काइने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।
सन् २०२१ यता विभिन्न उद्देश्यले कम्बोडिया भ्रमणमा जाने नेपालीको संख्या २१ हजार पुगेको र त्यसमध्ये धेरैजना यस्ता शंकास्पद ठगी केन्द्रहरूमा संलग्न भएको हुनसक्ने अनुमान गरिएको छ।
कम्बोडिया सरकारले हालै ९ जना नेपालीलाई विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेको आरोपमा पक्राउ गरेको प्रवक्ता क्षेत्रीले जानकारी दिए।
प्रवक्ता क्षेत्रीकाअनुसार पक्राउ परेकामध्ये ५ जनालाई संगठित ठगी अपराध सम्बन्धी कसुरमा ‘सिम रिप प्रोभेन्सियल कोर्ट’मा पेस गरिनेछ। बाँकी ४ जनालाई शरीर बन्धक, यातना तथा हिंसात्मक क्रियाकलापमा संलग्न रहेको कसुरमा अनुसन्धानका लागि थुनामा राखिएको छ। योसँगै कम्बोडियामा पछिल्लो समय पक्राउ परेका नेपालीहरूको कुल संख्या १४ पुगेको छ।