पाल्पा प्रहरीले सिआइबीको डिएसपी हुँ भनी रकम ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पाल्पाले गुल्मी रूरू गाउँपालिका वडा नं.२ ग्वादी बस्ने अन्दाजी २७ वर्षका रिजन भन्ने राजेश विश्वकर्मालाई पक्राउ गरेको हो।
विश्वकर्माले श्रीमान विदेश पठाउने क्रममा रकम फसेकी महिलालाई आफु सिआइबीको डिएसपी भएको र उक्त रकम निकालिदिने भन्दै विश्वासमा लिएर गत मंसिर महिनामा १ लाख ७० हजार रुपैयाँ लिएका थिए। रकम लिँदा छोरालाई अध्ययनका लागि बेलायत पठाउन रकम अपुग भएको र तलब आएपछि फिर्ता गर्ने बताएका थिए।
तर रकम लिएपछि सामाजिक सञ्जाल र मोबाइलमा समेतमा ब्लक गरेपछि ती महिलाले गत मंगलबार जिल्ला प्रहरी कार्यालय पाल्पामा निवेदन दिएकी थिइन्।
महिलाको निवेदनपछि अनुसन्धान गर्दै जाँदा विश्वकर्मालाई बिहीबार दिउँसो चार बजेतिर प्रहरीले पक्राउ गरेको हो।
तानसेन नगरपालिका वडा नं. १४ अर्गलीबाट पक्राउ गरेका विश्वकर्मालाई जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी होम प्रकाश चौधरीले जानकारी दिए।